जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने

किभिए । आफ्नो नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै जर्मनीले अब युक्रेनलाई हतियार उपलब्ध गराउने चान्सलर ओलाफ सोल्सले बताएका छन्।

चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिए।जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ जसको अर्थ तेस्रो देशहरूले पनि युक्रेनमा थप हतियारहरू पठाउन सक्छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए।यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ।

रुसलाई स्वीफ्ट ब्याङ्किङ प्रणालीबाट अलग गरिने

अमेरिका, क्यानडा र ब्रिटेनसमेत आबद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन्।रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताइन्।

उनले रुसी ब्याङ्कहरूलाई स्वीफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन्।यस्तै रुसी केन्द्रीय ब्याङ्कलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ।

 

शक्तिशाली विस्फोट र ग्यास पाइपलाइनमा क्षति

युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर अर्को रात कटाइरहँदा किएभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन्।

एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन्। भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।

एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको छ।

शनिवार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो।युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन्।हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

हमलाकारी रुसी फौजहरूले युक्रेनको दोस्रो ठूलो सहर खार्किबको एउटा प्राकृतिक ग्यास पाइप लाइनमा पनि विस्फोटन गराएका छन्।रुससँगको सीमा नजिकै उक्त पाइपलाइन रहेको क्षेत्रमा च्याउको आकार जस्तो विस्फोटन भएको भिडिओ युक्रेनको सरकारी विशेष सूचना तथा सञ्चार सेवाले टेलिग्राम एपमार्फत् सन्देश पठाएर सार्वजनिक गरेको थियो।

अहिलेसम्म उक्त पाइपलाइन कतिको महत्त्वपूर्ण हो प्रस्ट भइसकेको छैन।उक्त विस्फोटनले ग्यासको निर्यातलाई अवरुद्ध पार्छ या पार्दैन पनि खुल्न सकेको छैन।लडाइँ जारी रहे पनि युक्रेनले युरोपलाई ग्यास निर्यात गरिरहेको छ।

बीबीसी

आइतबार, १५ फागुन, २०७८, बिहानको ११:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर