काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । नेपाल समूह ‘बी’ मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । यूएई तीन खेलमा दुईमा जित र एकमा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दैछन् । दुवै सेमिफाइनलका खेल आज दिउँसो पौने चार बजे ओमानमा हुनेछ। फाइनलमा पुग्ने दुवै टोलीले विश्व कप खेल्न पाउनेछन् ।
फाइनल खेल आउँदो बिहीवार हुनेछ । चार देश सम्मिलित टी–२० श्रृङ्खलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।