स्वास्थ्य तथा जनस्वास्थ्यको क्षेत्रमा जे जति विकास र प्रगति भएका छन्, ती हजारौं वर्षको अध्ययन, अनुसन्धान र अनुभवहरुबाट प्राप्त भएका हुन् । रोग लाग्ने वा बिरामी हुने क्रम मानव जातिको उत्पतिसँगै सुरु भएको हो । यो मानिस मात्र नभई सबै जीवित वस्तुहरुमा हुने प्रक्रिया पनि हो । रोगको उत्पतिसँगै ती रोगहरुका रोकथाम र तिनका उपचार पनि विकसित हुँदै गएको पाइन्छ । विश्वको ईतिहासको विभिन्न कालखण्डमा विभिन्न महामारीहरु आएतापनि स्वास्थ्य र सुखद भविष्यका लागि नयाँ–नयाँ उपाय र ज्ञानहरुले सुल्झाएका छन् ।
नेपाललगायत समग्र विश्व नै कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न ‘लकडाउन’ गरिरहेको यो अवस्थामा सरकार र जनताहरुको मनोवल तथा आपसी समझदारी, हौसला, सहयोग उच्च रह्यो भने मात्र यो कठिन घडीको व्यबस्थापन सहज हुनसक्छ । यसै सन्दर्भमा महामारीको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
झन्डै १५० वर्ष अगाडि सन् १८४०/५० तिर लन्डनमा हैजाको संक्रमणबाट हजारौं मानिसहरु बिरामी हुन्थे, सयौं मानिसहरु मर्थे । त्यसबेला जनस्वास्थ्य, मेडिकल साइन्स र औषधि विज्ञानको बारेमा अहिले जस्तो विकास भएको थिएन । तत्कालिन अवस्थामा लण्डनको ढल व्यवस्थापन थिएन । शहरबाट निस्कने फोहोरहरु नदीको वरपर र बाटोको छेउछाउ फ्याँकिन्थ्यो । फोहोर पानीको निकास थिएन, चर्पीको दिसा भरिने ट्यांकी र खानेपानीको स्रोतबीचको दुरीको कुनै स्तरीय मापदण्ड थिएन । जोन स्नो नामक चिकित्सक हैजा महामारीको अध्ययन र सर्वेक्षणमा लागिरहेका थिए । उनले हैजाबाट पीडित हरेक घरबाट आवश्यक तथ्यांकहरू संकलन गरे । उनको निरन्तर प्रयास र अध्ययनले हैजा हुनुको मुख्य कारण खानेपानीको स्रोतमा मानव दिसा र फोहोरहरु मिसावटले नै हो भन्ने कुरा पुष्टि भयो । त्यसबेलाको अनुसन्धानमा पानीमा उनले कुनै विषकतत्व मिसिएको भनिएकोमा लगभग २इ वर्षपछि त्यो विष नभएर ‘भिव्रियो कोलेरा’ नामक ब्याक्टेरिया भएको र उक्त व्याक्टेरिया, फोहोरमैलाबाट खानेपानीमा मिसिएरं हैजा लाग्ने कुरा वैज्ञानिक ढंगवाट पुष्टि भयो । तर, जोन स्नोको अध्ययनले २० वर्ष अगाडि नै हैजाको व्यवस्थापनमा महत्वुर्ण भूमिका खेलेको थियो । उनकै अध्ययनको सुझाबलाई मध्यनजर गर्दै लण्डनले ढल व्यवस्थापन, पिउने पानीको स्रोतको व्यवस्थापन, व्यक्तिगत सरसफाई जस्ता कुराहरुलाई कार्यान्वयन गर्दै हैजाको महामारीलाई नियन्त्रण गर्यो । उनको अध्ययन लण्डनको ढल व्यबस्थापन र पूर्वाधार विकासको पुर्वाधारका रुपमा लिने गरिन्छ ।
त्यसै बेलादेखि जनस्वास्थ्यको उपायहरु पनि रोग निवारणमा महत्वपूर्ण छ भन्ने अवधारणाको विकास भयो । १४ औ शताब्दीको युरोपको प्लेगको महामारीले क्वारेन्टाईन र अन्तराष्ट्रिय समन्वयको आवश्यकतालाई औल्याईदियो र दाश्रो विश्वयुद्धपछि विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संघ/संगठनहरुले आफ्नो कार्य विस्तार गर्दै गए ।
मैले माथिको प्रसङ्ग जोड्नुको अर्थ अहिलेको कोभिड १९ को विश्वव्यापी महामारी र यसबेलामा हामीले लिनुपर्ने नीतिको बारेमा ध्यानाकर्षण गर्नु हो । विगतका महामारीहरुले र अहिलेको परिस्थितिमा धेरै अन्तर छ । कोभिड १९ नयाँ स्वास्थ्य समस्या भएपनि यसको समाधान खोज्न लामो समय लाग्नेछैन । कुनैपनि देशको पुरानै र परम्परागत स्वास्थ्य प्रणालीले नयाँ युगको स्वास्थ्य आवश्यकताको सम्बोधन गर्न सक्दैन । अस्पताल र उपचार मात्रै होईन जनस्वास्थ्य र प्रवद्र्धनात्मक स्वास्थ्य सेवाहरु सन्तुलित रुपमा अगाडि बढाउनु पर्दछ । रोग लागेपछि दिने सेवामात्र स्वास्थ्य सेवा हो भन्ने चिन्तनबाट माथि उठ्नुपर्दछ ।
रोग लाग्नुभन्दा रोगको रोकथाम गर्नु नै सर्वोत्तम तरिका हो । अहिले कोभिड १९ रोगको हकमा पनि यो भनाई अत्यन्तै उपयुक्त हुन्छ । संक्रमण फैलिसकेपछि नियन्त्रण गर्न धेरै स्रोत र साधनको आवश्यकता पर्दछ । रोग नफैलिओस् भन्नका लागि मानिसहरुले एकआपसमा सामाजिक दुरी बनाईराख्ने, सरसफाई कायम राख्ने, साबुनपानीले हातमुख धोईरहने, आवतजावतमा नियन्त्रण गर्ने गर्नुपर्दछ । त्यसकै लागि अहिले नेपाललगायतका विश्वका प्रायः देशहरुमा अहिले लकडाउन गरिएको छ । संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने, शंकास्पदरुलाई संक्रमण फैलिनसक्ने अवाधि (१४ दिनसम्म) क्वारेन्टाइनमा राख्ने तथा परीक्षणलाई द्रुत बनाउने । यी सबै उपायहरुलाई एकैसाथ अबलम्बन गर्नुपर्दछ । रोकथामका प्रक्रियाहरुलाई सावधानीपूर्वक अपनाउन सकिएन भने यो रोग तीब्र गतिमा सर्न सक्दछ, जुन कुरा तथ्यांकहरुबाट पुष्टि भइसकेको छ । संक्रमण न्यूनीकरण र रोकथाममा हरेक व्यक्ति, समुदाय, चिकित्सक, विद्यार्थी, सबै तहका सरकार र सम्पूर्ण सरोकारवालाहरु स्वयम् जागरुक भई अनुशासित ढंगवाट उपायहरुको पालना गरियो भने त्यो नै उल्लेख्य उपचार हो ।
कुनैपनि रोग तथा महामारी बिरुद्ध लड्ने सामथ्र्य साधनश्रोतको उपलब्धतामा भर पर्दछ । के इटाली र स्पेन, अमेरिका जस्ता देशहरुसँग साधनश्रोतको कमी थियो ? नयाँ किसिममा संक्रमणहरुको आकस्मिक आगमन हुँदा जस्तो सुकै साधनस्रोत भएका देशहरुलाई पनि अफ्ठेरो पर्छ । नेपालका लागि पक्कैे कठिन हुन्छ । एकातिर संक्रमणको दर बढ्दै जाँदा आम जनतामा पर्ने मनोवैज्ञानिक असरलाई सम्बोधन गर्नुपर्दछ भने अर्कातिर महामारीलाई नै नियन्त्रणमा लिनुपर्ने हुन्छ । त्यसैले अहिले नै सरकारका हरेक आदेश र अनुरोधहरुलाई आत्मसाथ गर्दै सहयोग गर्नुपर्दछ ।
एउटा बुझाई थियो, विकसित देशहरुमा सरुवा रोगहरुको संक्रमण हुदैन । सरुवा तथा संक्रामक रोगहरु गरिब राष्ट्रहरुका मात्र समस्या हुन् । तर, यो बुझाईको औचित्य सार्स, स्वाईन फ्लु र कोभिड १९ जस्ता रोगहरुकोे फैलावटले समाप्त भईसकेको छ । एउटा देशको कमजोरीले अर्को देशमा मानवीय क्षति हुने देखिएको छ । यसको अर्थ सम्पूर्ण राष्ट्रहरु मिलेर रोगहरुसँग लड्नुपर्छ र रोगको कुनै सीमा हुदैन । जहाँसुकै र जुनसुकै बेला पनि रोग फैलिनसक्छ भन्ने सोचको विकास जरुरी छ ।
अहिलेको अबस्था सामान्य परिस्थिति होईन । विषेश रुपमा जनस्वास्थ्यकर्मी, चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भनेका महामारी नियत्रणका मेरुदण्ड हुन् । यो बिरोध गर्ने बेला पनि होईन । जसरी व्यक्तिलाई अहिले मनोवैज्ञानिक रुपमा आत्मबलको खाँचो छ, त्यसरी नै सरकारलाई पनि समर्थन र सहयोगको खाँचो छ । आशा गरौं यसलाई हामी कम क्षतिमा न्यूनीकरण गर्न सक्दछौं । कालो बादलभित्र चाँदीको घेरा हुन्छ भने झैं अहिलेको कोभिड १९ महामारी नियन्त्रणमा चालिएका कदमहरु जस्तै साबुनपानीले हातधुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सरसफाई कायम राख्ने कुराहरुले क्षयरोग, ईन्फ्लुएन्जाजस्ता रोग नियन्त्रणमा पनि बल पुग्ने साथै जनस्वास्थ्यका सामान्य उपायहरुहरु पनि स्वास्थ्य जीवनको लागि प्रमुखतासाथ लागू गर्नुपर्ने रहेछ भन्ने सन्देश दिएको छ ।
लेखक पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँंमा जनस्वास्थ्य विषयका उप–प्राध्यापक हुनुहुन्छ ।