एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको छ । युक्रेनको विषयलाई लिएर दुई देशका प्रमुखबीच एक घण्टा लामो कुराकानी भएको हो ।
कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताएका छन्।
तर क्रेमलिनले फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले पुटिनको अन्तिम मनसायबारे आफूहरु प्रष्ट हुन नसकेको बताएका छन् ।
फोनवार्तापछि अमेरिकी वरिष्ठ प्रशासन अधिकारीले रूसले सैन्य कारबाहीमा अगाडि बढ्न सक्ने स्पष्ट सम्भावना रहेको र त्यो दृष्टिकोणमा कुनै आधारभूत परिवर्तन नभएको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेन सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेपछि विवाद बढेको हो ।