विराटनगर । शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक परिवारमा कोरोनाको लक्षण देखिएको विराटनगर माहानगरपालिकाले जनाएको छ । यद्यपि पुष्टी हुन बाँकी छ ।
दुबईबाट दिल्ली हुँदै चैत ७ गते आएका युवामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका तीन युवालाई र उनको परिवारका अन्य ३ जनालाई विराटनगर १९ स्थित बैजनाथपुरमा रहेको क्वारेन्टाइनमा राखिएको छ । ती व्यक्तिमा कोरोनाको लक्षण नदेखिएपनि परिवारका अन्य तीन सदस्यमा ज्वरो तथा फिभर देखिएकोले सबैलाई क्वारेन्टाइनमा पठाइएको माहानगरपालिकाको जनस्वास्थ्य माहाशाखाका जनस्वास्थ्य निरीक्षक दिलिपकुमार यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य निरीक्षक यादवको भनाइ जस्ताको तस्तै :
वडा नम्बर १५ को ३५/४० को उमेरको युवा विदेशबाट आएपछि जुन प्लेनबाट आउनु भयो त्यही प्लेनमा भएको कारण शंकास्पद भयो । घरमा आएपनि उहाँ आनन्दले हिंड्नुभयो । उहाँमा कुनै लक्षण नभएपनि उहाँको घर परिवारमा भाइरल फिभर देखियो । कतिपय लक्षणहरु कोरोनाजस्तो देखिन्छ । उहाँमा केही छैन तर, तीन जनामा संक्रमणको लक्षण देखियो । अनि हामीले उहाँ र परिवारका सदस्यहरुलाई बैजनाथपुरस्थित क्वारेन्टाइनमा पठाएका छौं । उहाँसहित ४ जना । उहाँ आएपछि कतिजनासँग भेटघाट गर्नुभयो, काहाँ काहाँ जानुभयो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौं । उहाँबाट संक्रमण फैलिएको हुनसक्छ । उहाँको स्वास्थ्य जाँचका लागि स्वाब परीक्षण लिएर पठाइएको छ ।
दुबईबाट दिल्ली हुँदै आएका धनगढीका ३४ वर्षीय युवा काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज र बसमा धनगढी पुगेकोमा उनमा कोरोना भएको शुक्रबार पुष्टि भएको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
चौथो संक्रमित भेटिएपछि सरकारले विदेशबाट आएका अरु पनि हुनसक्ने भन्दै सबैलाई क्वारेरेन्टाइनमा बस्न आग्रह गरेको छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा चीनबाट आएका विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने दुई जना काठमाडौं स्थित शुक्रराज अस्पतालमा उपचाररत छन् ।
😥😥