प्रदेश १ का नयाँ ८ मन्त्रीले लिए सपथ (भिडियो)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीमण्डल विस्तार गरेका छन् । ८ जना नयाँ मन्त्री थप गर्दै बनेको अबको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।

मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना मन्त्री थप भएका हुन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भए । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, हाङ्गामलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका बनेका छन् । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् भने लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छिन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् । यसैगरी जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने छिन् ।
उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच सपथ खुवाएका हुन् ।

आइतबार, २३ माघ, २०७८, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर