विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले त्रि.विद्वारा हालै प्रकाशित विविएस् तेस्रो वर्षको परीक्षाफलमा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम गरेकी छिन् ।
९७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणीसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । रंगेली निवासी सिम्रन अग्रवाल अत्यन्त मेहेनती, सरल, शिष्ट व्यवहारको भएको कुरा उहाँ बताउनु हुन्छ ।
मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम वर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरिल्याण्डका छात्र किन्जल पोख्रेलले टियु परीक्षामा ४ वर्षको परिणाममा २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।
स्मरण रहोस् मेरिल्याण्डले व्यवस्थापन २ तर्फको परिणाममा देशभरिमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । स्मरण रहोस् मेरिल्याण्ड देशकै र प्रदेशकै व्यवस्थापन शिक्षामा अग्रणी शैक्षिक संस्थामा मानिन्छ । यो खुशीको क्षणमा कलेज सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहेको कुरा प्रिन्सिपल ढकाल बताउँछन् ।