कविताः न्याय

परिहासमा रमाउनेले समेत सन्त्रासको अनुभव गरिरहेछन् !
शक्तिशालीका भीषण दम्भहरू सुकेको पात झैं झरिरहेछन् !
झोपडी छोडेर महल रोज्दो रहेछ, यो कोरोना,
गाडी छोडेर बोइङ्ग खोज्दो रहेछ, यो कोरोना,
सधैं मर्नेहरू त भोकले मरेकै हुन्, गणतन्त्रमा,
अजम्मरी हुन्छु भन्नेहरूसमेत भटाभट मरिरहेछन् !

हिजोसम्म
कतै अर्बौंअर्बको घोटाला सुनिन्थ्यो महलहरूमा,
गरिबको रगतले झूल र जाल बुनिन्थ्यो महलहरूमा,
नाङ्गा शरीरका पसिनाको स्विमिङ पुलमा नुहाएर
सत्यलाई षड्यन्त्रको बुजोले थुनिन्थ्यो महलहरूमा,

तिम्रो गणतन्त्रले मेरो स्वाभिमानलाई दास बनाएकै हो,
यसकै रक्षाका नाममा हजारौंलाई लास बनाएकै हो,
मैले तिम्रा काला कर्तुत छोप्न मौन समर्थन गरेकै हो,
तिम्रो सङ्कटमोचन खातिर सहिद बन्नलाई मरेकै हो,
आवरण जनार्दनको भिराएर गणतन्त्रले दास बनाएकै हो,

आज हर्षित छु म
एक्लै जङ्गलमा फक्रिएको स्वतन्त्र फूल जस्तै ,
न तिम्रो बैसाखीको सहाराले हुर्किनु पर्यो,
न तिम्रो बोझिलो अभिभाराले फुर्किनु पर्यो,
प्रकृति त दुइजिब्रे हुँदो रहेनछ त तिमी जस्तो ,
पक्षपातलाई किमार्थ छुँदो रहेनछ त तिमी जस्तो,

हा ! तिमी अजम्मरी भएर पनि आइसोलेसनमा छौ,
पलपल मृत्युको आभासले हाइपोटेन्सनमा छौ,
म त जिउँदो हुँदा पनि पटकपटक मरेर बाँचेकै हो,
कठै ! तिमी त,
त्रास र सन्त्रासका बीच आफ्नै मृत्युको क्याल्कुलेसनमा छौ !!

चैत्र १४, २०७६, दिउँसोको ०४:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर