विराटनगर । विराटनगर ऐतिहासिक विराट राजाको दरवार क्षेत्र मानिएको भेडियारीमा एक सातादेखि उत्खनन् गरिरहेको पुरातत्व विभागको टोलीले प्राचिन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान गर्न सफल भएको छ ।
दरबार क्षेत्र रहेको ठानिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खनन्बाट प्राचिन बस्ती दक्षीण र पश्चिम तर्फ फैलिएको पाइएको हो ।
पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको पाँच जनाको टोलीले पुस २५ गते विराटनगर आई २७ गतेदेखि सुरु गरेको उत्खनन्बाट बस्ती क्षेत्र पश्चिम र दक्षीण भारततर्फ फैलिएको संकेत फेला पारेको हो । अधिकृत ज्ञवालीले भने ‘हामीले मुख्य माउन्ट क्षेत्रमा पुनः उत्खनन् गरेका छौं र माउन्ट क्षेत्र (२० गुणा २० मिटर क्षेत्रफलमा फैलिएको) उत्खनन् गर्दा विगतमा पहिचान भएको मन्दिरको जग र त्यहाँबाट मानव बसोबास रहेको क्षेत्र पहिचान गरेका छौं ।’ तत्कालीन विराट क्षेत्रको दरबारको क्षेत्र दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको उनले जानकारी दिए ।
पुरातत्व विभागले यसपटक तीनवटा मुख्य उद्देश्य लिएर सन् १९६८ पछि दोश्रोपटक भेडियारीमा उत्खनन् थालेको हो । इशापूर्वको दोश्रो शताव्दीमा निर्माण भएको मानिएको मन्दिरको पहिचान गर्ने, अगरकोडिङको माध्यमबाट तिथि पत्ता लगाउने र दरवार तथा तेश्रो शताब्दीमा मानिस बसोबास गरेको बस्ती क्षेत्रको फैलावट (आर्कोलोजी) पहिचान गर्ने उद्देश्य राखेर उत्खनन् गरिएको ज्ञवालीले बताए ।
उत्खनन्बाट मन्दिरको पहिचान भएको र आर्कोलोजी स्पष्ट गर्न सफल भएको ज्ञवालीको भनाइ छ । उनले भने ‘मुख्य माउन्ट क्षेत्रबाट पूर्व वा उत्तर तर्फ बस्ती क्षेत्र हुनसक्ने अनुमान गरिएकोमा उत्खनन्बाट दक्षीण र पश्चिम क्षेत्रमा प्राचिन बस्ती रहेको भेटियो । पूर्वतर्फ कीचक बध पोखरी भएपनि अहिले त्यहाँ उत्खनन् गर्ने योजना छैन ।’ अगरकोडिङको माध्यमबाट तिथि प्रमाणित गर्न भने बाँकी रहेको उनले बताए ।
भेडियारीमा सन् २०६८ मा तारानन्द मिश्रको टोलीले पहिलो पटक उत्खनन् गरेको थियो । त्यतिबेला मुख्य उत्खनन् क्षेत्रमा ४८ गुण ४४ लम्बाकार मुगल सेपमा बनेको मन्दिर रहेको भनिएको थियो । त्यतिबेला उत्खनन् गरेर पुनः माटोले छोपेर उठाइएको ढिस्को पुनः विभागले उत्खनन् गर्दा आयातकार सेप फेला परेको र दुई साइजको इँटाहरु भेटिएका छन् ।
उत्खनन्का क्रममा ४० से.मी. लम्बाई, २८ से.मी. मोटाई र ५ से.मी. चौडाई र ३२ से.मी. लम्बाई, २३ से.मी. मोटाई र ५ से.मी. चौडाईको इँटा उत्खनन्का क्रममा केही झिंगटीहरु पनि भेटिएको भेटिएको ज्ञवालीले जानकारी दिए ।