विराटनगर । विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट राजाको दरबार क्षेत्रमा २४ सय वर्ष अगाडिको मन्दिरको संरचना फेला परेको दाबी गरिएको छ । यो कुरा प्रमाणित भए पुरातात्विक र ऐतिहासिक हुने बताइएको छ ।
‘विराट राजा’को दरबार क्षेत्रमा सुरु भएको उत्खनन्का क्रममा सो संरचना फेला परेको हो । उत्खनन्मा पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको छ ।
टोलीले यो क्षेत्रमा विराटराजाको दरबार भएको बारे थप अनुसन्धान गर्ने जनाएको छ । भेडियारी पुरातात्विकस्थल ठूलो क्षेत्रफलमा फैलिएर अहिले उत्खनन् भइरहेको स्थलबाट दक्षिण भारततर्फ पनि थप संरचना हुनसक्ने आँकलन गरिएको छ । उत्खनन् भई रहेको स्थल २४ सय वर्ष पुरानो आयात आकारको मन्दिरको संरचना भएको हुनसक्ने अनुमान गरिएको छ । ‘आयात आकारको संरचनाको जग भेटिसकेको अझ तल माटोमुनि थप वस्तु भेटिने संभावना कम छ,’ टोली प्रमुख ज्ञवालीले भने । मन्दिर नभिएको स्थलको लम्बाई, उचाई, चौडाई आदि विषय अध्ययन गरिने उनले जानकारी दिए ।
२०२७ सालमा पनि यो क्षेत्रको उत्खनन भएको थियो । त्यसबेला पञ्चमार्क सिक्का फेला परेको थियो । ती सिक्का इसापूर्व ५ देखि १० मा भारत वर्षमा चलेको विश्वास गरिन्छ । यो क्षेत्र प्राचीन सभ्यताको थलो भएको मानिन्छ । पञ्चमार्क सिक्का भेटिएको विषयलाई थप पुष्टि गर्न विभिन्न चार क्षेत्रबाट विभिन्न किसिममा नमूना संकलन गरी त्यसको वैज्ञानिकता परीक्षण गरेर समय र मितिबारे आंकलन गर्ने टोलीले जनाएको छ ।
विभिन्न समयमा भेटिएका वस्तु संरक्षण समितिको नाममा सुरक्षित गरेर राखिएको छ । पाँच कठ्ठा क्षेत्रलाई पर्खाल लगाएर सुरक्षित राखिएको छ । गत वर्ष बेलायतबाट आएको विज्ञ टोली यो क्षेत्रमा अध्ययन गरेको थियो । पुरातत्वको टोलीले १८ दिनसम्म अध्ययन तथा उत्खनन्लाई निरन्तरता दिने बताएको छ ।
विराटनगर महानगरपालिकाले भेडियारीको करिब १ सय २८ विगाह क्षेत्रलाई सरंक्षणसहित पुरानो संरचनाको परिकल्पना दिने गुरु योजनाअनुसार नयाँ संरचना बनाउने परियोजना अघि सारेको छ । विराटनगरमा पर्यटकको आगमन बढाउनको लागि पनि विराट राजाको दरबार क्षेत्र महत्वपूर्ण हुने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको दाबी छ ।
अहिले पहिलो चरणमा स्थानीयले संरक्षण गरेर राखेको भनि दाबी ग्रिंदै आएको क्षेत्रमा उत्खनन सुरु गरिएको छ । यो क्षेत्रमा प्राचीन समयको संरचना भएको प्रस्ट भएको बताइए पनि हालसम्मको उत्खनन्मा इँटा र झिंगटीमात्र फेला परेको टोली प्रमुख ज्ञवालीले बताए ।