विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलको नियमित मासिक कार्यक्रम काव्यरोहणको सातौं शृंखलामा वरिष्ठ कवि कुन्ता शर्मा प्रस्तुत भएकी छन् ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा शर्माले आफ्ना करिब डेढ दर्जन कविता वाचन गरिन् । गुरुकुलले हरेक महिनाको पहिलो शनिबार एकजना अग्रज कविलाई आमन्त्रित गरेर कविता वाचन गराउँदै आएको छ । कवि शर्माले ‘आमा’ शीर्षकको कविता वाचन गरेर प्रारम्भ गरेको कार्यक्रममा ‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता वाचनबाट बिट पारेकी थिइन् ।
उनले ‘म सडकको मान्छे’, ‘सम्राटको लुगा’, ‘फेदीलाई बिर्सन्छ मान्छे’, ‘नदी किनाराको रुख’, ‘कविको हत्या’, ‘विष वृक्ष’, ‘धातु’ कविता वाचन गरिन् । त्यस्तै कवि शर्माले ‘बिउ कुह्यो’, ‘कमसेकम सपना देख’, ‘बहिनीहरू अब विद्रोह गर्छन्’, ‘हामी सहँदैनौं’, ‘मौसमका कुरा गरौं’ र ‘आमालाई पत्र’ शीर्षकका कविता पनि सुनाउन भ्याइन् । सो अवसरमा कवि शर्मालाई आरोहरणका तर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरे ।
२०७६ मंसिर ७ गतेबाट सुरु भएको काव्यरोहण कोरोना भाइरसको संक्रमणका कारण बीचमा लामो समय रोकिएको थियो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए । अग्रजको सम्मानका लागि मासिक शृंखला सञ्चालन गरेको उनले बताए । अर्का कार्यक्रम संयोजक धीरज राईका अनुसार हालसम्म बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा र तीर्थ श्रेष्ठले काव्यरोहणमा कविता वाचन गरिसकेका छन् । शुल्कसहितको कविता सुन्न विराटनगरसहित पूर्वका धरान, इटहरी, दमक, विर्तामोड, धनकुटालगायतका स्थानबाट दर्शकको बाक्लो उपस्थिति हुने गरेको छ ।