विराटनगरका विद्यालय पुसभरी खुला रहने

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरका सरकारी–निजी विद्यालय पुस महिनाभर खुला रहने भएका छन् । कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम र संक्रमितको संख्या बढ्न थालेपछि शिक्षा मन्त्रालयले सीसीएमसीसीको सिफारिसमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

तर, स्थानीय परिस्थिति हेरेर विराटनगर र मोरङमा विद्यालय खुला रहने वा बन्द गर्ने भन्ने निर्णय हुने बताइएको छ । अहिलेसम्मको तयारीले पुस मसान्तसम्म विद्यालय बन्द हुने सम्भावना कम छ ।

निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन मोरङ अध्यक्ष शितला सुब्बाले संघीय सरकारको तर्फबाट विद्यालय बन्द गराउने भन्ने निर्देशन आएपछि प्रदेश राजधानी विराटनगरमा भने पुसभर विद्यालय खुला गरिने बताइन् । ‘प्याब्सनको केन्द्रीय कमिटीले पनि बन्द गर्ने विषयमा परिपत्र गरेको छैन । फेरि कतिपय विद्यालयमा परीक्षा संचालन भइरहेकोले गर्दा पनि परीक्षा सकिएपछि मात्र विद्यालय बन्द हुनसक्ला,’ उनले भनिन् ।

सुब्बाले सरकारको निर्णयलाई मान्न आफूहरू तयार रहेको तर संक्रमणको फैलावट अति नै न्यून भएको पालिकाहरूमा भने विद्यालय खुला रहँदा समस्या नहुने आफूहरूको धारणा भएको सुनाइन् ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख उपसचिव दुर्गा खतिवडाले पनि विद्यालय पुसभरि खुला रहने बताए । उनले बन्दै गर्नुपरे माघ लागेपछि मात्र गरिने जानकारी दिए । परीक्षा सकिएका विद्यालयहरूले यसअघि नै सात दिन विदा दिने निर्णय गरिसकेको र सरकारको तयारीअनुसार माघ १५ सम्म विद्यालय बन्द गर्न आफूहरूलाई समस्या नभएको प्याब्सन मोरङ अध्यक्ष सुब्बाले बताइन् ।

बुधबार, २८ पुष, २०७८, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर