लधुकथाः माक्सको कमाल

 विष्णु उप्रेती

एकदिन म गाउँको बाटो भएर घर फर्कंदै थिएँ । गाउँका माझमा आईपुग्दा, कोलाहाल, रुवाबासीको चर्को आवाजले म टक्क अडिए । एकछिन विचार गरें । हल्लाखल्ला भए तिर लागें ।

एउटा घरमा दुईजना बुढाबुढी सिकुवामा बसेर रोहिरहेका थिए । बीस पच्चिस जना मानिसहरू ऑगनमा विभिन्न तर्कवितर्क गर्दै थिए । बुढाबुढीलाई सम्झाइरहेकी एक महिलालाई मैले सोधें, ‘के भयो बैनी, बुबा आमालाई ? किन रोहिरहेका छन् ?’

‘के हुनुर सर, आज बिहान एघार बजे चार जना कालो माक्स र कालो चस्मा लगाएका मानिस आएर, बाबैआमैलाई मुखमा टेपलगाई हात खुट्टा बाँधेर, घरमा भएका नगद सुनचाँदी सबै लिएर गएछन्।’

मैले बाबै भएका ठाउँतिर गएर सोधे, ‘बुबा कति पैसा र अरु केके लगे ?’ के भन्नुर माष्टर बाबु, लगे नी पाँच लाख जति पैसा र दश तोला जति सुन। अनि बाईकमा उँभोतिर भागे। आधा घण्टापछि हर्के भाईले देखेर हामीलाई खोली दियो।’

‘अनि तेत्रो पैसा किन घरमै राखेको त ?’, मैले फेरि सोधें । ‘के गर्नु बाबु, भएका सन्तान जति सबै विदेशमा छन् । बेला बेलामा पैसा पठाएपछि उनीहरूको कर्तव्य पुरा भै हाल्छ। यिनै पैसाले हामीलाई तातोपानी तताएर दिन्छन् की, नुहाई धुवाई गरिदिन्छन् की, एक्लो भएका बेला सम्झाउने बुझाउने गर्छन् की, भनेर घरमै राखेको नी, तर के गर्नु उल्टै बाँधेर, लडाएर मुखमा टेपले टालेर गए ।’

बाबैका कुराले मलाई बिरक्त लाग्यो, टाउको समाउँदै एक्लै बर्बराउँदै बाटो लागें। धन्य हो माक्सको कमाल। हिंजो मुखभरी घाउ आएर माक्स लगाउँदा गार्डले बैंकमा छिर्न दिएन, आज नलगाई जाँदा बैंकमा छिर्न दिँदैन् । अरु के–के सुन्नपर्ने हो…

Supported only between 1944-2022