शेरबहादुरले देखाएनन् सङ्केत

 अनन्तराज न्यौपाने

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन सकिएको एक महिना नाघिसकेको छ । महाधिवेशनले साबिककै पार्टी सभापति शेरबहादुर देउवालाई फेरि पनि सोही पदमा निर्वाचित गरेको छ । ‘मर्निङ सोज द डे’ भन्ने उखान छ अङ्ग्रेजी भाषामा । देउवा निर्वाचित भइसकेपछिको पार्टीको मिर्मिरे हेर्दा कुनै सकारात्मक पाटो देखिएको छैन । पार्टीको परम्पराविपरीत सभापति देउवाले आफैँसित चुनाव लडेका र निकटतम प्रतिद्वन्द्वी भएका डा. शेखर कोइरालालाई जसरी तलको वरीयता किटान गरेका छन्, यस प्रकरणले नेपाली काङ्ग्रेसभित्र गुट–उपगुटको लफडालाई नवीकरण गरेको छ । महाधिवेशनपछि गुट–उपगुटको समस्या थोरै भए पनि समाधान हुन्छ भन्ने आशामा पार्टीका कार्यकर्ता थिए । तर कार्यकर्ताको आशा र विश्वासमाथि पुनर्निर्वाचित देउवाले पार्टीको मर्म, मान्यता र परम्पराविपरीत वाण चलाएका छन् । यसबाट पार्टीभित्रको कलह सतहमा आउन मद्दत पुगेको छ ।

त्यसोत, पार्टीको महाधिवेशन समयमै सक्नुपर्ने संवैधानिक प्रावधान नभएको भए सभापति देउवाले त्यो पनि गर्ने थिएनन् होला । महाधिवेशन नगरीकन नै आफ्नो पद र कार्यसमितिलाई लम्ब्याइरहन्थे होला । किनकि उनलाई प्रजातान्त्रिक संस्कार, अभ्यास र शैलीमा रुचि छैन । विद्यार्थी राजनीति गर्दा २०२८ सालमा नेविसङ्घको सभापति भएका थिए, शेरबहादुर । विधान अनुसार नेविसङ्घको महाधिवेशन २–२ वर्षमा गर्नुपर्ने हुन्छ । तर २०२८ सालमा सभापति भएका उनले नेविसङ्घको अर्को महाधिवेशन २०३६ सालमा मात्र गरे । २०३६ सालमा राजनीतिक वातावरण खुकुलो थियो । बीपी कोइराला जनमत सङ्ग्रहका दौरान बहुदलको प्रचारमा क्रियाशील थिए । बीपीले शेरबहादुरलाई नेविसङ्घको महाधिवेशन गर्न दबाब दिए । तिन ताक, नेविसङ्घको महाधिवेशन पनि करिब–करिब पार्टीकै महाधिवेशनबराबर हुन्थ्यो । बीपीले दबाब नदिएको भए देउवा २०४६ सम्म नै नेविसङ्घको सभापति भइरहन बेर थिएन । २०३६ सालमा बीपीको दबाब र २०७८ सालमा संवैधानिक व्यवस्थाको बाध्यतामा परेरमात्र शेरबहादुर महाधिवेशन गर्न बाध्य भएका हुन् ।

देउवा महाधिवेशन गर्ने खालका प्रजातान्त्रिक संस्कारयुक्त नेता भएका भए १३ औँ महाधिवेशनमा उनी सभापति चुनिएपछि नेविसङ्घ, महिला सङ्घ, तरुण दल लगायतका भ्रातृ र भगिनी सङ्गठनको महाधिवेशन गराउँथे होला । पत्रकारहरूको नेपाल प्रेस युनियन पनि महाधिवेशन हुन नसकेर ८ वर्षदेखि शिथिल अवस्था छ । यी भ्रातृ, भगिनी र शुभेच्छुक सङ्गठनका महाधिवेशनका बारेमा सभापति देउवा किन स्पष्ट बोल्दैनन् ? कार्यकर्ता पनि नेतासित कुरा गर्दा उसको मनोविज्ञान बुझेरमात्र गर्छन् । महाधिवेशन किन हुँदैन भनेर कहिल्यै सभापति देउवालाई सोद्धैनन् । यसरी १४ औँ महाधिवेशनपछि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति एक निर्वाचित निकाय त भएको छ तर यसका अङ्गप्रत्यङ्गका रूपमा रहेका भ्रातृ–भगिनी र शुभेच्छुक संस्था निष्क्रिय छन् । यसरी पार्टी हात, खुट्टा, मुख आदि अङ्ग नभएको एउटा लम्पसार शरीरजस्तो भएर एउटा कुनामा थन्किएको छ ।

सर्सर्ती हेर्दा नेपाली काङ्ग्रेसका सभापतिहरूले आफ्नो पद छाड्दा महान् र लोकप्रिय भएर छाडेका छन् । बीपी र मातृकाको त प्रसङ्ग नै बेग्लै रह्यो । किनकि उनीहरूले २००७ सालको जनक्रान्तिको नेतृत्व नगरेका भए देश यति छिटै आधुनिक युगमा प्रवेश गर्ने थिएन । यसपछि २०१२ मा पार्टी सभापति भएका सुवर्ण शमशेरले २०१४ मा विराटनगरमा सम्पन्न विशेष महाधिवेशनमा अत्यन्त त्यागको भावना देखाएर पार्टी सभापति पद बीपीलाई नै सुम्पिए । त्यहाँ कुनै विवाद थिएन बरु समर्पण र निष्ठा प्रधान थियो । बीपी सभापति भएकै बेला महेन्द्रले २०१७ सालको कू गरे । त्यसपछि बीपीले २०३५ सालमा किसुनजीलाई पटना सम्मेलनमा पार्टीको कार्यवाहक सभापति बनाए । किसुनजीले २०५३ मा सभापति पद छाड्दा उनी लोकप्रियताको शिखरमा पुगिसकेका थिए ।

पार्टी सभापति भएकै बेला गिरिजाप्रसाद कोइरालाको निधन भयो । तर कोइराला जीवनको उत्तराद्र्धमा सफल राजनेताका रूपमा स्थापित अपितु प्रसिद्ध हुन पुगे । शान्ति प्रक्रियामा उनले गरेको योगदानले उनका पुराना सम्पूर्ण अँध्यारा पक्षलाई ओझेलमा परे । गिरिजाप्रसादपछि सुशील कोइराला सभापति भए । उनको स्वर्गारोहण पनि सभापति भएकै बेला भयो । गिरिजाप्रसाद शान्ति प्रक्रियाको नेतृत्वले महान् र अमर भए भने सुशील कोइराला संविधान निर्माण र जारी गराएका कारण लोकप्रिय भए । त्यसो त सुशील काङ्ग्रेस राजनीतिभित्र कुटिल र खुरापात स्वभावका मानिन्थे । तर संविधानको निर्माणले उनका सबै नकारात्मक पक्ष लुक्न पुगे । यसरी नेपाली काङ्ग्रेसका सभापतिहरू बीपी, मातृका, सुवर्ण, कृष्णप्रसाद, गिरिजा र सुशीललाई नेपालको इतिहासले अत्यन्त श्रद्धा र आदरका साथ सम्झन्छ । तर १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापति भएका शेरबहादुरले यो परम्परालाई कायम राख्ने सङ्केत छैन । मोर्निङ सोज् द डे ।

मङ्गलबार, २७ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर