गणेश उप्रेती (सुशील)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्र)ले वडादेखि केन्द्रसम्मै आफ्नो अधिवेशन तथा सम्मेलनहरू सम्पन्न गरेको छ । नेकपा विभाजनपछि देखिएको अन्यौल, वैचारिक अस्पष्टता तथा कमजोर सांगठनिक प्रणाली र कार्यकर्तामा छाएको व्यापक निराशाबीच भएका सम्मेलन तथा अधिवेशनहरूले भने उर्जा भएको सो पार्टीका नेताहरू बताउँछन् । सो पार्टीको अधिवेशन तथा सम्मेलनहरू सम्पन्न भएपछिको माओवादीको अवस्था के हुन्छ ? के उनीहरूले भनेजस्तै ०६४ सालको जस्तै माओवादी बन्न अब सम्भव छ ? यही सेरोफेरोमा रहेर हाम्रोमतले प्रदेश १ माओवादी केन्द्रका नवनिर्वाचित सचिव गणेश उप्रेती (सुशील)सँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः
माओवादीको सबै अधिवेशन तथा सम्मेलन सकियो । यी सबै अधिवेशन तथा सम्मेलनले पार्टीलाई नयाँ उर्जा भर्यो ? कसरी ? यसको सन्देश के हो ?
– कमरेड लेनिनले भन्नुभएको छ, ‘हरेक भेला, सम्मेलन र बैठकहरू कम्युनिष्टहरूको लागि स–साना क्रान्ति हुन् ।’ क्रान्ति आफैंमा उर्जाशिल हुन्छ र यसले महान् रुपान्तरणको माग गर्छ । यो माक्र्सवादी कोणबाट माओवादीका सबै भेला सम्मेलनहरू उर्जाशिल भएका छन् । हिंजो नेकपा हुँदा लोलाएका, बिलखबन्धनमा परेका, पहिचान गुमेजस्तो भएका सबै नयाँ पुराना माओवादीहरू वडादेखि केन्द्रसम्मको सम्मेलन, अधिवेशनमा ठूलो उत्साहका साथ भेला भए र ०६४ सालको सेरोफेरोमा आफूलाई पु¥याउने प्रतिबद्धता पुरा गरे । माओवादी शान्ति प्रक्रियामा आएदेखिको इतिहासमा सबैभन्दा व्यवस्थित, संगठित र संस्थागत हुने ऐतिहासिक प्रक्रियामा अगाडि बढेको छ । यसर्थमा यी सबै भेलाहरूको सन्देश माओवादीको क्रान्तिकारी पन हो ।
माओवादीको केन्द्रीय अधिवेशनका राष्ट्रिय तथा अन्तराष्ट्रिय आयाम के हुन् ? जनताले कसरी बुझ्ने ?
– सबैभन्दा पहिलो कुरा त माओवादी पार्टी मात्रै त्यस्तो पार्टी हो जसले आफ्नै यी सबै अधिवेशनहरूमा आफ्नो समीक्षा गर्यो । मूल नेतृत्वको प्रमुख कमजोरीहरूको बारेमा निर्ममतापूर्वक शल्यक्रिया गर्यो र त्यसलाई शिक्षाको रुपमा ग्रहण गर्दै अब समाजवादको बाटो निर्माण गर्ने क्रममा ती गल्तीहरू नदोहोर्याउने प्रण गर्यो । नेपालमा कुनै पनि त्यस्ता पार्टीहरू छैनन् आफ्ना गल्ती तथा कमजोरीको समीक्षा गर्ने । दोस्रो कुरा वित्तीय पूँजीवादले कसरी साम्राज्यवादको रुप ग्रहण गरिरहेको छ र दलाल पूँजीवादमा रुपान्तरण भएर समाजवादको यात्रालाई कसरी छेकिरहेको छ भन्ने वर्ग विश्लेषण हाम्रो अधिवेशनले गम्भीरतापूर्वक गरेको छ । आजको विश्वकै प्रमुख शत्रुको रुपमा वित्तीय पूँजीवाद रहेको निष्कर्ष निकालेको छ । दलाल पूँजीवाद र एकाधिकार पूँजीवादको विरुद्धमा आफूलाई उभ्याएर मात्रै संसारको पर्यावरणको, स्थानीय स्रोत साधन र मानव जातीको रक्षा तथा विकास गर्न सकिन्छ । त्यसको एउटै मात्र आधार भनेको समाजवाद हो भन्ने निष्कर्ष हाम्रा सबै अधिवेशनले निकालेका छन् । अबको माओवादीको बाटो नेपालमा दलाल पूँजीवादको विरुद्धमा संघर्ष गर्दै समाजवादको आधार तयार गर्ने नेपाली बाटोको रुपमा अगाडि बढ्छ । अब नेपालको कम्युनिष्ट आन्दोलन यही धारलाई समाएर मात्रै ध्रुवीकरण सम्भव छ ।
अधिवेशन तथा सम्मेलनहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास भएन भन्ने देखियो । के भन्नुहुन्छ ?
– यो प्रश्न जायज छैन । म आफैं प्रदेशमा निर्वाचन लडेर भारी मत ल्याएर विजयी भएको सचिव हुँ । कसरी लोकतन्त्रको अभ्यास भएन ? अर्को कुरा लोकतन्त्र भन्ने वित्तिकै सबै ठाउँमा ढ्वाङ थापेर मतदान गरेर मात्रै प्रकट हुन्छ ? लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको सर्वसहमति हो । खराब अवस्था हो मतदान । यसर्थमा माओवादीको अधिकांश वडा, पालिका, प्रदेश र केन्द्रमा सर्वसहमतिमा नेतृत्व टुंगिएको छ । नटुंगिएको ठाउँमा मतदान भएको छ । यो भन्दा उन्नत लोकतन्त्रको अभ्यास कस्ले र कहाँ भयो ?
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो । यही एजेण्डासहितको राजनीतिक व्यवस्था खतरामा छ भन्ने अभिव्यक्ति सुनिन्छ । यसको सुरक्षाको लागि माओवादी के गर्छ अब ?
– जब जब माओवादी आन्दोलन र पार्टी कमजोर अवस्थामा पुग्छ तब संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक प्रणालीका विरुद्धमा उभिएकाहरूको स्वर उँचो बन्न जान्छ र यी एजेण्डाहरू खतरामा परेको आभाष हुन जान्छ । यो सायद, राष्ट्रिय मनोविज्ञान भइसकेको छ । किनकी यी एजेण्डाहरू मात्रै माओवादीको देन र एजेण्डा हुन् । यीनको रक्षा र विकास माओवादीको रक्षा र विकाससँग मात्रै सम्बन्धीत छ । यसर्थ माओवादीले आफूलाई अझै मजबुद बनाएर यसको रक्षा र विकास गर्छ ।
प्रदेश संरचनामा गएपछिको पहिलो अधिवेशन भयो । प्रदेशमा माओवादीको वास्तविक अवस्था के छ ?
– पार्टीलाई संस्थागत गर्ने ऐतिहासिक प्रक्रिया अनुसार पालिकाको अधिवेशन र प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अहिले हाम्रो पार्टीको विधान अनुसार पालिका, प्रदेश र केन्द्र मात्रै कार्यकारी कमिटीहरू रहेका छन् जुन अहिलेको संघीय संरचना र संविधानले पनि त्यही विषयको माग गर्छ । माओवादी त्यो संघीयतावादी भएको कारणले सोही अनुसारको संरचनामा आफूलाई अगाडि बढाएको छ । प्रदेश अधिवेशनले प्रदेशभरीको सिंगो पार्टीलाई संस्थागत गर्ने अभियानको सुरुवात गरेको छ । एक लाख भन्दा धेरै संगठित पार्टी सदस्यहरूको नवीकरण गरेर प्रमुख प्रतिस्पर्धी पार्टीहरूको हाराहारीमा आफूलाई उभ्याएको छ । अब अधिवेशन पछि हामी पार्टी सदस्यता नवीकरणलाई पुनः खुल्ला गर्छौं र आगामि निर्वाचनसम्ममा ३ लाख भन्दा माथि संगठित पार्टी सदस्य पुर्याउने लक्ष्यका साथ हामी काम गरिरहेका छौं ।
३ लाख पार्टी सदस्यता पुर्याउने आधार के छ ?
– थुप्रै आधारहरू छन् । विगतमा हामी नेकपा हुँदा मोरङमा १२ हजार पार्टी सदस्य थिए । तर, विभाजनपछि नेकपा माओवादी केन्द्रले मात्रै मोरङमा २३ हजार पार्टी सदस्य बनायो । यो हतारमा थियो । अझै पनि मोरङमा मात्रै हेर्ने हो भने पार्टी सदस्य बन्न योग्यता पुगेका हजारौं साथीहरू छुट्नु भएको छ । त्यसबाहेक हामीले जनवर्गीय संगठनहरूलाई पार्टी सदस्यता वितरण गरेका छैनौं । यसअर्थमा मोरङमा मात्रै हामीले ५५ देखि ६० हजारसम्म पार्टी सदस्यता बन्ने देखिन्छ । सोही आधारमा अन्य जिल्लामा पनि छुटेका र नयाँ बन्न उत्सुक युवाहरूलाई जोडेर जाँदा ३ लाखभन्दा धेरै संगठीत पार्टी सदस्य बनाउने आधार छ ।
प्रदेश १ एमाले र कांग्रेसको आधार भूमि जस्तो देखिन्छ । माओवादीले त्यसलाई चिरेर आफ्नो आधार क्षेत्र हो भन्ने कुरालाई कसरी प्रमाणित गर्नुहुन्छ ?
– के को आधार भूमि ? क्रान्तिको कि प्रतिक्रान्तिको ? प्रतिक्रान्तिको चाहिं हो । किन भने त्यही झापाबाट प्रतिगमनको मतियारको रुपमा चिनिएको एमालेका अध्यक्ष छन् र घोर पश्चगामी भनेर चिनिएका राप्रपा नेपालका अध्यक्ष छन् । यी लगायत यथास्थितिवादीका नाइकेहरू पनि माथिल्लोस्तरका छन् । तर, हामी क्रान्तिकारीहरू हौं । यो क्रान्तिको भूमि हो । यहाँ हजारौं वीर योद्धाहरूले परिवर्तनका लागि रगत बगाएका छन् । इतिहासमा ठूलाठूला किसान आन्दोलनहरूले यो भूमिको क्रान्तिको पहिचान दिएको छ । सुखानी, छिन्ताङ, पिस्करलगायत हत्याकाण्डहरूमा दर्जनौं मुक्तिकामीहरूले सहादत प्राप्त गरेका छन् । हिंजो माओवादी जनयुद्धमा दर्जनौं सामन्तवाद विरोधी लडाइँहरूमा क्रान्तिकारीहरू विजयी भएका छन् । पूर्वबाट पूँजीवाद र सामन्तवादको विरुद्धमा क्रान्तिकारी आन्दोलनहरू उत्कर्षमा पुगेका इतिहास साक्षी छन् र अहिले पनि यो देशको प्रतिगामी र पश्चगामीहरूसँग लड्नुपर्ने हामी क्रान्तिकारीहरूको कर्तव्य उत्तिकै छ । ती प्रतिगामी आन्दोलनका नाइकेहरू पनि हामीसँगै हाम्रै भूमिमा अवस्थित भएकाले लडाई अझै तेजिलो, पेचिलो र रोमाञ्चक हुनेछ । यसको लागि प्रदेश नम्बर १ माओवादी पार्टी हिंजो पनि हार खाएन र आज पनि र भोली पनि हार खाँदैन ।
तपाई मोरङबाट प्रदेशमा नेतृत्व गर्नुहुन्छ । मोरङ माओवादीमा हेभिवेट नेताहरूको लर्को छ । संसदीय फाँटमा आ–आफ्नो स्पेशका लागि द्वन्द्व बढ्छ होला होइन ?
– के हो यो हेभिवेट भनेको ? माक्र्सवादले त मान्छेको वेटलाई मान्दैन । क्रान्तिमा भूमिका प्रधान हुन्छ र मोरङमा भएका सबै क्रान्तिकारीहरूको भूमिका समान छ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट वेटहरूको मापन हुनुपर्छ । यो मानेमा सबै आ–आफ्नो भूमिकामा अब्बल छन् र कहीं कतै कुनैपनि फाँटमा कुनै पनि स्पेशको लागि एकल द्वन्द्व माओवादी आन्दोलनले इन्कार गर्छ । हामी समाजवादमा विश्वास गर्छौं र समाजवाद सामूहिक पहलबाट मात्रै सम्भव छ । अझ मोरङमा हामी सबै साथी तथा नेताहरू टिमवर्कबाट नै सबै कामहरू गरिरहेका छौं, गर्छौं ।
प्रदेश १ देखि माथिसम्मै तपाईहरू सत्तारुढ हुनुहुन्छ । प्रदेश सरकार चाहिं सुस्त किन छ ?
– एउटा अत्यन्तै जटिल राजनीतिक परिदृश्यमा यो सरकारको गठन भएको हो । यसको आफ्नै बाध्यता र परिवेश छन् । तरपनि सरकार भइसकेपछि बाध्यता देखाएर जनअपेक्षाबाट पन्छिन मिल्दैन । अब सरकारले नयाँ प्रतिस्थापन बजेट ल्याएर काम अगाडि बढाउने गम्भीर सल्लाह भएको छ । सरकारलाई सुस्त हुने छुट इतिहासले दिँदैन । गठबन्धन पार्टीहरू यसमा गम्भीर छन् र सरकारलाई यो विषयमा मार्गनिर्देशन गरिरहन्छ ।
संघीयता कार्यान्वयनमा प्रदेश सरकार कमजोर जस्तो देखिन्छ । अधिकार पनि दिइएको छैन । यस विषयमा तपाईहरूले के पहल गर्नुहुन्छ ?
– यो गम्भीर विषय हो । दुई तिहाइ प्राप्त गरेको विगतको प्रधानमन्त्रीले प्रदेशहरूलाई प्रशासनिक इकाईको रुपमा मात्रै बुझेको कारण सुरुदेखि नै प्रदेशलाई शक्तिशाली बनाउने सन्दर्भमा वैचारिक समस्याहरू पैदा भए । त्यसैको परिणाम संविधानले व्यख्या गरेका प्रदेशले पाउनुपर्ने सम्पूर्ण अधिकारहरू पाइसकेको छैन । यो अधिकार प्रदेशलाई दिन अहिलेको केन्द्रीय सरकार लाग्नुपर्छ । हाम्रो पार्टीको केन्द्रीय अधिवेशनले पनि संघीयतालाई अझ मजबुद बनाएर लाने निष्कर्ष निकालेको छ ।