जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल : मोतीराम र उर्लाबारी फाइनलमा भिड्दै

विराटनगर । जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र युनाइटेड स्पोर्टिङ क्लब विजयी भएका छन् ।

मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा युनाइटेडले नव प्रगतिशिल सेवा समाजलाई २–१ गोलअन्तरमा पराजित गरेको हो । दोस्रो खेलमा उर्लाबारीले साइनो स्पोर्टिङ क्लबलाई ४–१ गोलमा पराजित गरेको छ । समूह ‘ख’को ९ अंककका साथ शीर्ष स्थानमा रहेको उर्लाबारी फाइनलमा पुगेको छ ।

बिहीबारको पहिलो खेलमा नव प्रगतिशिलका सन्देश राईले ४१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा युनाइटेडका राजीवकुमार खवासले गोल गर्दै खेल बारबरी पारे । पुनः खवासले ६६ औं मिनेटमा गोल गर्दै दोब्बर गोल संख्या बनाए । खेलको म्यान अफ द म्याच युनाइटेडका राजीवकुमार खवास घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका मिनल परियारले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५९ औं मिनेटमा उर्लाबारीका संजय धिमालले गोल थपे । ६९ औं मिनेटमा साइनोका उत्तम शर्माले एक गोल फर्काए । ७० औं मिनेटमा पुनः उर्लाबारीका लागि संजयले गोल गरे । ७३ औं मिनेटमा उर्लाबारीका रुद्र कार्कीले गोल गर्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच उर्लाबारीका रुद्र कार्की भए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल २४ गते शनिबार मोतीराम स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।

बिहिबार, २२ पुष, २०७८, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर