काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
सांसद मोदीले उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनसनमा बसेर भुक्तानी दिलाइछाड्ने अठोटसमेत व्यक्त गरे । आज सिंहदरवारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानहरूको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरू आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए ।
सांसद मोदीले उखु किसानहरूको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दाबीसमेत गरे । बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरूको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए । उनले कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नपर्ने गरी सरकारले उनीहरूको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे ।
माओवादी सांसद धर्मशीला चापागाईले समितिले पटकपटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले किन उखु किसानहरूलाई भुक्तानी दिन नसकेको ? भनी पटकपटक प्रश्नसमेत गरिन् ।
यता, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरूको भुक्तानीका लागि प्रयास गरिरहेको बताए । करिब एब अर्ब ७० करोड उखु किसानहरूको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिब आठ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द्रप्रसाद शर्माले उद्योगहरूको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताए । उनले ती समस्या समाधानका लागि सरकार लागिपरेको पनि बताए ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानहरूको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए । सचिव पुस्करले उखु किसानको भुक्तानीको समस्या समाधानका लागि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग छलफल भइरहेको पनि बताए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!