व्यापार संघमा निर्विरोध नेतृत्व चयन हुन्छ

 नविन रिजाल

मोरङ व्यापार संघले ३३ औं कार्यसमितिका लागि मंगलबारबाट निर्वाचन प्रक्रिया सुरु गर्दैछ । मंगलबार कार्यसमिति सदस्य पदमा निर्वाचित हुन आकांक्षीहरुले मनोनयन दर्ता गर्नेछन् । संघको ३२ औं कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नविन रिजाल आगामी कार्यकालको लागि अध्यक्ष पदका आकांक्षी छन् । रिजालबाहेक अरुले अहिलेसम्म अध्यक्ष पदमा सार्वजनिक रुपमा दाबेदारी पेश गरेका छैनन् । संघको ३१ औं कार्यसमितिमा महासचिव, ३२ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेर अनुभव संगालेका र आगामी कार्यसमितिमा अध्यक्षको दावी गरिरहेका रिजालसँग हाम्रोमत दैनिकले संघको क्रियाकलाप, निर्वाचनको तयारी र आगामी दिनको योजनाबारे गरेको कुराकानीः

मोरङ व्यापार संघको ६५ औं साधारणसभापछि ३३ औं कार्यसमिति निर्वाचनको तयारी कसरी भइरहेको छ ?

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ । हामीले सकेसम्म निर्विरोध ढंगले कार्यसमिति बनाउन मेहनत गरेका छौं । आकांक्षीहरुसँग त्यसै अनुसार छलफल भएको छ । मलाई लाग्छ हामीले सर्वसम्मत नयाँ नेतृत्व दिनेछौं । मंगलबार नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता गर्ने निर्वाचनको कार्यक्रम छ । सम्भवतः आवश्यक संख्यामै मनोनयन पर्ने अपेक्षा गरेका छौं ।

सर्वसम्मत ढंगले कार्यसमिति चयन गर्न निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ ?

हाम्रो विधान अनुसार १६ जना सदस्यहरु पहिले निर्वाचित गर्छौं । जुन उद्योग र वाणिज्य तर्फबाट बराबरी निर्वाचित हुनेछन् । त्यसमध्येबाट कार्यसमितिको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष यसपटक नयाँ थप गरिएको पद हो ।

तपाई ३२ औं कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, त्यसअघि महासचिव भएर काम गर्नुभयो । यो कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ ?

वर्तमान कार्यसमिति निर्वाचित भएको करिव पौने तीन वर्ष भयो । हामी प्रायः सबै नयाँ थियौं । अनुभवको केही अभाव थियो । यद्यपि अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा हामीले धेरै काम गर्नसक्यौं । कोरोना महामारीबीचमा पनि हामीले धेरै कामहरुमा सक्रिय भयौं । व्यवसायिक संस्थाले व्यवसायिक क्षेत्रको मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने उद्देश्यमा केन्द्रीय भयौं । हामीले कोरोना महामारीका बीचमा अस्पताल निर्माण गर्ने, पिसिआर मेसिन उपलब्ध गराएर रोग पहिचानमा योगदान गरेका छौं । व्यवसायिक क्षेत्रका समस्याहरु समाधान गर्न आवश्यक समन्वय र पहल गर्न पनि हामीले कहिँकतै कुनै कसर छोडेनौं । हामी बैंक ब्याजदरलाई एक अंकमा सीमित राख्न सफल भयौं । हामीले नै सुरु गरेको मुद्दा राष्ट्रले सम्बोधन गर्ने अवस्था सिर्जना गर्न सफल भयौं । अहिले राज्यले लिएको गलत नीतिको प्रभावले फेरि ब्याजको समस्या देखापरेको छ । तर, हामी दवावमूलक कार्यक्रम अघि बढाउनेछौं ।

उद्योग वाणिज्य संघले मुद्दाहरु उठाउने तर आम व्यवसायीको हितभन्दा पदाधिकारीहरको हितमा ती मुद्दाहरु समर्पण गर्ने गरेको आरोप यहाँहरुमाथि लाग्ने गरेको छ नि ?

हैन, हामीले यस्तो आरोपको सामना गर्न परेन । हामीले जुन मुद्दाहरु अगाडि बढायौं, त्यो सामूहिक निर्णयबाट उठायौं । स्थानीय उद्योगी व्यवसायीहरुको हितमा हुने गरी हामीले काम गर्यौं । ब्याजदर कम गर्न, चोरी पैठारीलाई घटाएर बजार प्रवद्र्धन गर्न अभियान चलाउँदा हामीले समग्र व्यवसायीहरुको हितमा नै काम गरेका छौं । व्यक्तिगत लाभहानीमा आधारित भएर हामी चलेनौं । युवाहरुको समूह नेतृत्वमा रहेका कारण पनि हामीले कामलाई व्यवस्थित गर्न सकेको नै महसुस गरेका छौं । त्यसैले म दाबीका साथ भन्नसक्छु कि यो कार्यकालमा हामीले व्यक्तिगत लाभहानीको लागि कुनै सम्झौता गरेका छैनौं ।

तपाई वरिष्ठ उपाध्यक्ष भएको कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु के हुन् ?

यो साढे दुई वर्षको अवधिमा हामीले सामाजिक उत्तरदायित्वको विषयलाई बढी नै जोड दियौं । ११० बेडको अस्पताल निर्माण गर्यौं । व्यवसायीहरुको धेरै मुद्दाहरु समाधान गर्ने काम गरेका छौं । सरकारसँग पहुँच राख्ने र व्यवसायिक हितमा काम गर्ने, मेरो देश मेरो उत्पादनको नारालाई अगाडि बढाउने एउटा आधार तयार गरेका छौं । नयाँ व्यवसायीहरु उत्पादन गर्ने र उनीहरुलाई सहयोग गर्ने काममा पनि हामीले सफलता प्राप्त गरेका छौं ।

मोरङ व्यापार संघ मुलुककै जेठो उद्योग वाणिज्य संघ हो । तर, पछिल्लो समय संस्थामा आवद्ध हुने सदस्यहरु घट्नुको कारण के हो ?

संस्थाहरु धेरै भए । पहिले व्यापारीहरुको सहयोगी संस्थाको रुपमा यो जिल्लाभरीकै साझा संस्था थियो । जिल्लाभरीका साथीहरु यसमै संगठित हुँदा सदस्यहरु धेरै हुन्थे । अहिले हाम्रो शाखा कार्यालयहरु नौं वटा भइसकेका छन् । उर्लाबारी, मिक्लाजुङ, रंगेली, विराटचोक आदि शाखाहरुमा २ हजारदेखि ३ हजार जनासम्म उद्यमीहरु संगठित भएका छन् । जिल्लामा २० हजारभन्दा बढी उद्यमी र व्यवसायीहरु हामीसँग आवद्ध हुनुभएकोले हाम्रो संख्या घटेको होइन बरु बढेको छ । जहाँसम्म सदस्यता शुल्कको कुरा छ, अहिले दिनप्रतिदिन महंगी बढेको छ । जनशक्ति व्यवस्थापन गर्नुपर्ने, कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । महंगी अनुसार नयाँ सदस्यता शुल्क पनि हामीले धेरै राखेका छैनौं । नविकरण शुल्क पनि चर्को छैन । त्यसैले सदस्यता शुल्क र नविकरण शुल्कका कारण सदस्यको संख्या घटेको भन्ने कुरा सत्य होइन ।

सर्वसम्मतिमा नेतृत्व चयन भएपछि भावी दिनमा तपाईंको प्राथमिकता के हुन्छ ?

हामीले केही फरक गर्नुपर्छ । हाम्रो सरकारसँगको पहुँच र निरन्तर फलोअप गर्ने विषयमा अहिले पनि कमजोरी छ । अब हामीले त्यसलाई निरन्तर फलोअप गर्ने टीम तयार गर्नुपर्छ । व्यवसायीहरुसँग उद्योग वाणिज्य, अर्थ, कृषि, लगायत विभिन्न छ मन्त्रालयमा धेरै काम पर्छ । तिनीहरुसँग समन्वय गर्नेतर्फ हाम्रो काम ध्यान जानेछ । त्यसैगरी प्रदर्शनीस्थलको स्थापना र निर्माणलाई अगाडि बढाउने छौं । औद्योगिक क्षेत्रको स्थापनाको मुद्दा २० वर्ष पुरानो भइसक्यो । अब सरकारले औद्योगिक क्षेत्र बनाउला र उद्योग गरौंला भनेर पर्खेर बस्ने अवस्था छैन । हामी आफैं नयाँ ढंगले बढ्नपर्छ भन्ने छ । त्यसैले यो मुद्दालाई पनि आगामी कार्यसमितिले दिगोरुपमा समाधान गर्नेछौं । स्टार्टअपको विषय पनि हामीले बढाएका छौं । यसलाई निरन्तरता दिने सोचेका छौं । दीर्घकालीन रुपमा यस्ता कार्यक्रमलाई अगाडि लैजाने छौं ।

व्यापार क्षेत्रमा पछिल्लो समय तपाईले पहिचान गरेको मुख्य समस्याहरु के हुन् ?

अहिले व्यापारीहरुले भोगेको सबैभन्दा ठूलो समस्या भनेको तरलताको समस्या हो । यो चिज सँधैका लागि समाधान गर्न राज्य गम्भीर बन्नुपर्छ । वर्षको दुई महिना मात्र विकास बजेट खर्च गर्ने राज्य प्रणाली सुधार गर्न सरकारलाई दवाब दिन्छौं र हरेक महिना योजनावद्ध खर्च गर्ने योजना सरकारले बनाउनुपर्छ । राजश्व संकलनको लक्ष्य झैं खर्चमा पनि त्यस्तै लक्ष्य दिनुपर्छ । अहिले पनि विद्युतमा समस्या छ । ट्रान्समिसन लाइनहरुको प्रबन्ध गर्ने र कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण गर्ने कार्यमा सरकारको ध्यान पुगिरहेको छैन । त्यसका लागि हामी निरन्तर पहल गर्नेछौं । बैंकको ब्याजदर र कर्जा प्रवाहमा भएका समस्याले व्यापार प्रवद्र्धन सोचे जसरी हुन सकेको छैन । त्यसका लागि पनि हामीले निरन्तर प्रयत्न गरिरहनेछौं ।

मङ्गलबार, २० पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर