विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्युनिकरणको लागि मोरङको ग्रामिण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामिण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लघन गरि सवारी दुर्घटना बढन थालेपछि मोरङ ट्राफिकले गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका – १ होक्लाबारीस्थित श्री मावि होक्लाबारीमा अध्ययरत विद्यार्थीहरूलाई ट्राफिक सचेतना मुलक जानकारी गराएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, सही शिव प्रसाद शर्माले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई ट्राफिक सचेतनाको बारेमा जानकारी गराए । ‘सडक शुसान र सवारी दुर्घटना न्यूनिकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी अभियानको थलानी भएको छ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यो अभियान गाउँ केन्द्रीत हुनेछ । यसको थलानी कानेपोखरीको गाउँदेखि सुरु भएको छ ।’
अभियानमा हप्तामा एक दिन मोरङका १७ वटा स्थानिय तह रहेको गाउँहरुमा पुगेर स्थानिय तहका जनप्रतिनिधी, स्थानिय प्रहरीसमेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरुलाई प्रशिक्षण दिइ सडक अनुशासनको पालना गराउने उनले बताए ।
‘सडक प्रयोगकर्ताहरुलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भयताको संगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको एउटा उद्देश्य पनि हो,’ उनले भने, ‘ अभियानको क्रममा सडक प्रयोगकर्ताहरुलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’
अभियानमा गाउँका प्रत्येक विद्यालयहरुमा ट्राफिक प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरुप सचेतनामुलक कक्षाहरु पनि संचालन गरिने भएको छ । ‘विद्यालय जाने बालवालिकाहरु कम उमरेका भएका कारण सवारी दुर्घटनामा पर्ने उच्च जोखिम वर्गमा पर्दछन्,’ उनले भने, ‘ दुर्घटना हुनबाट जोगाउन तथा सडक सुशासन पालाना गराउन र असल जिम्मेवार नागरिकको रुपमा बिकास गर्नको लागि योजना बद्ध रुपमा बालवालिकाका सुरक्षाका विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ । सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि संचालन गरिनेछ ।’ अभियनाले स्वयमसेवक उत्पादन गरि परिचालन गर्ने भएको छ ।