सुवेदीको नेतृत्वमा एमाले निकट कर्मचारीमा फुट

विराटनगर । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन मोरङ औपचारिक रुपमै विभाजित भएको छ ।

संगठनमा विभिन्न समयमा नेतृत्व गरेका र जिम्मेवारीमा रहेका नेतृत्व गरिसकेका व्यक्तिहरुले शनिबार विराटनगरमा छुट्टै भेला आयोजना गरी संगठन पुनर्गठन गरेको घोषणा गरेसँगै विभाजनले औपचारिकता पाएको हो ।

शनिबारको भेलाबाट हरि सुवेदीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सुवेदीका अनुसार भेलाले दुई जना पछि थप गर्ने गरी १९ जनाको कमिटी गठन गरेको छ ।

भेलाबाट मोरङ जिल्ला उपाध्यक्षमा दिपेन्द्र रेग्मी र डा.खिला बोगटी, सचिवमा रविन्द्र कार्की, सहसचिवमा अर्जुन दाहाल र कोषाध्यक्षमा विश्वमणि न्यौपाने चयन भएका छन् । भेलाले अमृत गिरी, रामकाजी कार्की, बिन्दु निरौला, सन्तोष काफ्ले, बिष्णु दुलाल र जानकीप्रसाद अधिकारीलाई केन्द्रीय प्रतिनिधि चुनेको छ ।

अहिले देशका विभिन्न जिल्लाहरुमा भेलाहरु भइरहेको र संगठन पुनर्गठनको क्रम तीब्र भएको अध्यक्ष सुवेदीले जानकारी दिए । सबै जिल्ला कमिटीहरु गठन भएपछि केन्द्रीय भेला आयोजना हुने बताइएको छ ।

भेलाको पूर्वसन्ध्यामा शुक्रबार संगठनका मोरङ जिल्ला अध्यक्ष ओम सुवेदीले जिल्लामा संगठनको भेलालगायत कुनै कार्यक्रम नभएको भन्दै भेलामा उपस्थित नहुन अपिल गरेका थिए ।

आइतबार, १८ पुष, २०७८, बिहानको ११:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर