विराटनगर । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शिक्षादीप कलेजले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतियोगितामा ४२ जना प्रतिस्पर्धीलाई उछिन्दै कक्षा १२ की छात्रा सलिना गिरी प्रथम भएकी छन् ।
त्यस्तै प्रतियोगितामा कक्षा–१२ का सर्वज्ञराज कठात द्वितीय हुँदा कक्षा १२ मै अध्ययनरत घनचन्द्र भट्टराई तृतीय भएका छन् । ‘शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभाव’ विषयमा आयोजित प्रतियोगितामा आफ्ना विचार राखेर एन्जिनिता श्रेष्ठ, सागरिका पौडेल र स्मृति यादवले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदित नेतृत्वको निर्णायक समितिले प्रतियोगितामा सहभागी ४२ जना प्रतिस्पर्धीबाट ६ जना पुरस्कृतको नाम छनौट गरेको हो । प्रतियोगिताबाट छनौट भएका विद्यार्थीलाई विशेष कार्यक्रम गरेर पुरस्कृत गरिने कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा कलेजका प्राचार्य खड्कासहित निर्देशक भूपि दाहाल (भूपेन्द्र), निर्णायकद्वय मीनकुमार नवोदित, डा. विमल श्रीवास्तव, विज्ञान संकायका कोर्डिनेटर वसन्त बस्तेत, व्यवस्थापन संकायका कोर्डिनेटर शंकर भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीले हिसान मोरङले आयोजना गर्ने जिल्लास्तरी वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।