विराटनगर । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल शिक्षक संघ विराटनगरको नगर अधिवेशन भोलि शनिबार सम्पन्न हुँदैछ । विराटनगरको सरस्वती माध्यामिक विद्यालयमा हुने अधिवेशनलाई आ–आफ्नो पक्षमा पार्ने प्रतिपष्र्धामा उम्मेदवारहरु जुटेका छन् ।
अध्यक्ष पद कसले आफ्नो पक्षमा पार्ने प्रयत्नसँगै मतदाताहरुका बीचमा विभिन्न टिप्पणीहरुसमेत हुन थालेका छन् । चर्चापरिचर्चाका क्रममा प्रतिपष्र्धामा दुई नेताहरुबीच तीब्र प्रतिष्पर्धा हुने देखिएको छ ।श्री आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरे र भानु आधारभूत विद्यालय प्रधानाध्यापक सञ्जिव घिमिरे प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।
निर्वाचनको माहौल प्रतिष्पर्धात्मक रहेकोले अहिले नै अध्यक्षमा कसले बाजी मार्ला भन्न सकिने अवस्था देखिदैन । वर्तमान नगर कार्य समितिको अध्यक्षसमेत रहेका सञ्जिव घिमिरे आफूले जित्ने दाबी गर्छन् भने अर्को उम्मेदवार राजेन्द्र घिमिरे वर्तमान कार्यसमितिले शिक्षकका मुद्दाहरुको विषयमा मौन रहेको, संगठनलाई अहिलेसम्म कै कम्जोर अवस्थामा पुर्याएको, संघलाई संस्थागत गर्न नसकेको र वर्तमान नेतृत्वको कारण नेपाल शिक्षक संघमा आवद्ध रहेका अधिकांश शिक्षकहरुले आफूलाई पेशागत रुपमा सुरक्षित महसुस गर्न नसकेकोले सबै शिक्षक साथीहरुले आफूलाई समर्थन गर्ने र निर्वाचन जित्ने कुरामा आफू ढुक्क रहेको बताउछन् ।
यसअघि अध्यक्ष पदको दाबेदार सबैलाई सरस्वती माध्यमिक विद्यालय विराटनगरमा भेला गरेर सर्वसम्मतका लागि प्रयास गरेको भएपनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने अवस्था आएको हो ।
सहमति खोज्ने क्रममा अध्यक्ष पदका अन्य दाबेदार जनता नमुना माध्यमिक विद्यालयका चिन्तामणि रिजाल, आदर्श माध्यमिक विद्यालयका सन्तोष पोखरेल, इन्द्र चौहान, यम भट्टराई र सरस्वती माध्यमिक विद्यालयका रञ्जन कार्कीले संघलाई क्रियाशील बनाउन नेतृत्व परिवर्तन आवश्यक भएकोले नेतृत्व परिवर्तन हुनुपर्ने अडान राखेका थिए । नेतृत्व परिवर्तनको शर्तमा अध्यक्षको दाबी छोड्ने बताउँदा पनि वर्तमान अध्यक्ष सञ्जिव घिमिरेले उम्मेदवारी नछोडेका कारण सहमति बन्न नसकेपछि सबै आकांक्षीहरुको भेलाले राजेन्द्र घिमिरेलेलाई नगर अध्यक्षको उम्मेदवारको रुपमा अगाडि बढाएका थिए ।
अध्यक्ष पदका छ जना दावेदारहरको साझा उम्मेदवारको रुपमा घिमिरेको उम्मेदवारी आएका कारण पनि उनी बलियो रहेको चर्चा चुलिएको छ । यद्यपी मतदान र मतपरिणामका लागि भने केही समय पर्खिनुनै पर्ने हुन्छ ।