विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ ।विद्यार्थीहरू बिहीबार कलेज जान खोज्दा प्रशासनले सुरक्षा गार्ड र बाहिरी मानिसहरु परिचालन गरेर रोक लगाएको विद्यार्थीहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै बुधबारदेखि पठनपाठनमा रोक लगाएको थियो ।
कलेजले पुस ११ गतेबाट कक्षा सुरु गरेको तर १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने विद्यार्थीलाई जानकारी गराएका थिए । तर, अभिभावकको आग्रहमा तीन दिन पढ्न दिएपनि बुधबारबाट अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकेको हो ।
कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षा कोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
‘सुरुमा कलेजका प्रशासन फाँटका कर्मचारीले अतिरिक्त शुल्क नबुझाए पठनपाठन हुँदैन भन्नुभयो । प्रशासनका कर्मचारीले कलेजको सम्बन्धन खारेज गरिदिए ।एमबीबीएस पठाउन बन्द गरौंला तर, अतिरिक्त शुल्क बिना नपढाउने जानकारी गराउनुभयोु, ती विद्यार्थीहरुले भने, ‘त्यसपछि कलेजका प्रिन्सिपल रामहरी घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई कलेजले पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाइएको हो ।’
नोबेल मेडिकल कलेजमा एमबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावकले पुस ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएर आन्दोलनसमेत गरेका छन् । कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका थिए ।
-मेडिकल कलेजको दादागिरी कक्षाबाटै निकालिए विद्यार्थी
तर, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुस ६ गते कलेज प्रशासन र विद्यार्थी तथा अभिभावकलाई राखेर छलफल गराएका थिए । छलफलपछि प्रजिअ दाहालले नोबेल मेडिकल कलेज विराटनगरलाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।
कलेजका प्रिन्सिपल डा। रामहरी घिमिरे र कलेजका जनसम्पर्क अधिकृत नारायण दाहाललाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएका छैनन् ।
प्रजिअ दाहालले चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले अनुगमन गरेर विद्यार्थीको समस्या समाधान गर्नुपर्ने बताए । उनले कलेजले अतिरिक्त शुल्क लिएको बीलसहित उजुरी लिएर आएमा कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने बताएका छन् ।
-कान्तिपुरबाट