विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदीसहित पक्राउ परेका चार कर्मचारीलाई प्रहरीले शुक्रबार ‘बैंकिङ कसुर’ म्याद थप गर्ने भएको छ ।
भोली बिहीबार तमु ल्होसार पर्वको सार्वजानिक विदा भएको कारणले मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैंकिङ कुुसरमा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको हो ।
प्रहरीले बैंकिङ कसुरमा ६० दिनसम्म न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान रहेको छ । बैंकिङ कसुर मुद्दा प्रहरीले बुधबार सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैंकबाटै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले यसअघि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरि सकेको छ । पक्राउ परेका भट्टराईलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको थियो । उक्त मुद्दा प्रहरीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको छ ।