सप्तकोशी बैंकको करोडौं घोटला प्रकरण : लेखा अधिकृत र अपरेसन प्रमुख पनि पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला प्रकरणमा बैंकका लेखा बित्त प्रमुख देवि प्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई बुधबार साझ बैंकदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बैंकको रकम घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेपछि उनीहरु पक्राउ परेका हुन् । यसअघि मोरङ प्रहरीले बैंकका जिएसडी प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरि बैंकिङ कसुरमा अनुसन्धान गर्दै आएको छ ।

सिइओ सुवेदी र लेखा प्रमुख भण्डारी नेरुडे लघुवित्त कम्पनीमा संगै लामो समय काम गरेका थिए । सप्तकोशीमा उनीहरु आएपछि बैंकको अनियमिता गर्न कानुनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारीले ‘आइडिया मेक्ङिको’ रुपमा सिइओ सुवेदीका विश्वासिलो पात्र भएको उजुरीमा उल्लेखछ । बैंकका कर्जा प्रमुख विदुर पोखरेल र आइटि प्रमुख सशांक पोखरेल सिइओ सुवेदीका मामाका छोरा हुन् । अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन २०१६ देखि २०१७ मा दुईवटा फर्जि कारोबार भएको उजुरी पत्रमा उल्लेख छ । बैंकको आन्तरिक लेखा परीक्षण गर्ने फर्म पनि सिइओ सुवेदीले ससुराली नाताको नाता पर्ने सालोलाई लगाउने गरेका थिए ।

बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरु शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सिइओ नविन सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।

बविताको नाममा फर्जी खाता सिईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन् । भट्टराई उनका फुपुका छोरा हुन् ।

हिनामिना भएको रकममध्ये धेरै वविताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैंया जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको दावी उजुरीमा गरिएको छ । ‘उक्त खाता पनि अरु नै व्यक्तिबाट संचालन गरी कारोबार भएकोले सुक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ । पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो । यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट ९जीएसडी० प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र स्पतकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि। नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बित्तीय संस्था हो । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन् ।

 

पुस १४, २०७८, साँझको ०७:११ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर