गिरिजाप्रसादको निधनपछि कोइराला निवासले पाखा पार्दै लग्यो : अर्याल

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले आपसी कटुता र वैमनस्यको अन्त्य गरेर अगाडि नबढेसम्म आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार अर्याल निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अर्यालले महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर पार्टी एकतामा लाग्नुपर्नेमा जोड दिए ।

कांग्रेसले बहुमत नल्याएसम्म मुलुकको आर्थिक विकास र समृद्धि नहुने र जनताले सुख नपाउने उनको दाबी थियो । “जनताले झण्डै दुई तिहाई दिँदा पनि कम्युनिष्टले देश चलाउन सकेनन्,” अर्यालले भने, “अब जनताको आशा र भरोसा भनेको कांग्रेस नै हो । यदि कांग्रेसले आसन्न निर्वाचनमा बहुमत ल्याएन भने जनतामा झनै निराशा बढेर जानेछ । बहुमत ल्याउन गाउँदेखि केन्द्रसम्म कांग्रेस एकजुट हुनुपर्छ ।”
अब कांग्रेसको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समृद्धि भएको उनको कथन थियो ।

महाधिवेशनपछि पुराना अनुभवी र युवापुस्ताका नेताहरू बसेर आर्थिक नीति तयार पारिरहेको अर्यालले जानकारी दिए । उनले भने, “कांग्रेसले के कस्ता आर्थिक मुद्दा र नीति अघि अंगिकार गर्ने भन्ने विषयमा काठमाडौं सिनियर लिडर र योङ लिडर बसेर तयार पारिरहनु भएको छ, त्यसले छिट्टै नै मूर्त रु लिनेछ ।” अब जतिसक्दो चाँडो मुलुकको आर्थिक विकास गरेर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको अर्यालले औंल्याए ।

अग्रज पुस्ताको अनुभव र युवापुस्ताको जोश र जाँगरले आगामी निर्वाचनमार्फत कांग्रेस देशकै एक नम्बर पार्टी बन्ने उनको दाबी थियो । अर्यालले आपसी अहमता, कटुता एकआपसमा विषवन नगरी बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र सबैलाई अवसर प्रदान गर्नुपर्ने बताए ।
गिरिजाप्रसाद कोइरालापछि कोइराला निवासले आफूलाई पाखा पार्दै लगेको उनको गुनासो थियो ।

“हिजोका दिनमा मोरङमा हामी सबै एकै कांग्रेस थियौं । तर विस्तारै निवासले पाखा लगाएको अनुभूत भयो । त्यसपछि एउटा पृथक धार बनाउन बाध्य भयौं’,” अर्याल भने, “यहाँ आफ्नो राजनीतिको पनि कुरा आउँछ । जसका कारण निवासबाट अलग हुँदै गयौं ।” उनले अहिले पनि निवासप्रतिको मोह नमरेको प्रस्ट्याए ।

कृष्णप्रसाद, वीपी, मातृका, गिरजाप्रसाद जन्मे, बढेको, हुर्केको र बसेको निवासप्रतिको कहिल्यै नमेटिने अर्यालले बताए । “गिरिजाबाबुसँग पनि हाम्रो विवाद हुन्थ्यो, विवाद भएर हामी रिसाएर हिंड्यौं भने भोलिपल्ट बिहानै चिया खान घरमै आइपुग्नु हुन्थ्यो,” अर्यालले भने, “अनि त्यति सिनियर मान्छे घरमै आएपछि जस्तोसुकै रिस पनि एकैछिनमा मरेर जान्थ्यो ।”

बुधबार, १४ पुष, २०७८, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर