विराटनगर । अपराधमा संलग्न बालकलाई राख्ने विराटनगरस्थित ‘बाल सुधार गृह’ आफैंमा सुधारको पर्खाइमा छ । विराटनगर ५ मा रहेको सुधारगृहको संरचना, त्यसको क्षमता र त्यहाँको वातावरणमा सुधार गर्नुपर्ने खाँचो देखिन्छ ।
विसं २०७० देखि सञ्चालनमा आएको ५० बालक अटाउने क्षमताको गृहमा अहिले २०२ बालक राखिएको छ । विभिन्न अपराधमा संलग्न बालकमध्ये धेरैजसो करणी मुद्दामा दोषी करार भएकाहरु रहेको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
गृहमा तत्काल बालकहरुले राम्रोसँग बसेर खाना खाने अवस्था छैन । अहिले जगदीश अग्रवालले सञ्चालनमा ल्याएको गोवद्र्धनदास परोपकारी संस्थाले ६ लाख रुपैयाँ खर्चेर ट्रस्टसँगै बसेर खानका लागि आवश्यक टेबल र बेन्चको पनि व्यवस्था गरिएको छ ।
बालगृहमा रहेका बालकलाई सूचना र मनोरञ्जनको लागि भर्खरै मात्र ९५ हजार रुपैयाँको लागतमा ५५ इन्चको एक एलसिडी टेलिभिजन जडान गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले गृहको अवस्था अवलोकन गरेपछि टेलिभिजन जडान गर्न पहल गरेका थिए ।
बाल सुधार गृहको क्षमता विस्तारको लागि प्रदेश सरकारले चालु वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट भवन निर्माणको काम सुरु भएकोमा त्रुटी देखिएपछि काम रोकिएको छ ।
सुधार गृहमा रहने बालकलाई पठनपाठनको लागि कक्षा ५ देखि १० सम्मको लागि तीन जना मात्र शिक्षक छन् । यस्तै १० कक्षा उत्तीर्ण गरेका बालकलाई उच्च शिक्षा अध्ययनको लागि सुविधा छैन । गृहमा १८ वर्षमुनिका बालक मात्रै राखिन्छ ।
बाल सुधार गृहमा रहेका बालकलाई उचित ज्ञान दिन दक्ष मनोविमर्शकर्ताको आवश्यकतालाई पूरा गर्नुपर्ने सुधार गृहका कर्मचारी सरोज निरौलाले बताए । कलिला बालक सुधार गृहमा आइसकेपछि उनीहरूको चौतर्फी विकास गर्न र भोलिका दिनमा समाजमा असल नागरिक बनाउन सुधार गृहको अवस्था सुधार हुनुपर्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले बाल सुधारगृहकै सुधार गर्नुपर्ने देखिएको भन्दै आवश्यक पूर्वाधार, दरबन्दी र बालकलाई उचित वातावरण प्रदान गर्न सहयोग गर्ने बताएका छन् । सुधार गृह परिसरको एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डार गृह रहेको छ ।