गणेश लम्साल
प्रसिद्ध साहित्यकार स्वर्गीय बालकृष्ण समले लेखेका छन्, ‘दुःखीको घरमा तेरो बास हुने भए हे, ईश्वर हामीलाई अझै दुःख दे ।’ समको यो उद्गार विराटनगर महानगरपालिका ८ आदर्श टोलमा जन्मिएका बालक ४ वर्षीय कृष्ण र उनका दाजु ७ वर्षीय लल्कुले भोगिरहेको अवस्थाबाट यर्थाथ लाग्छ । भूमीहिन गरिब मात्र नभएर सबैले हेलाहोचो गर्ने मरिक समुदायका कृष्ण र लल्कु दलित र गरिब भएकोले मात्र ठगिएका होइनन् । उनीहरु त गरिब र दलितसँगै दुबै जना जन्मैदेखि आँखा नदेख्ने भएकोले भाग्यबाट पनि ठगिएका छन् । उनीहरुको आँखामा घाउ भएकोले सबैले छिछी र दुरदुर पनि गर्छन् । जन्मैदेखि उनीहरुको आँखामा घाउ थियो । अहिले पनि पिप बगिरहन्छ । आमा निर्मला र बाबु छोटुले गरिबीले गर्दा उनीहरुको उपचार गराउन पाएका छैनन् ।
कृष्ण र लल्कुका आमाबाबु सफाईको काम गर्छन् । खोलाको डिलमा नाम मात्रको छाप्रोमा बसोबास छ । बाबु सधै रक्सी खाएर झगडा गरिरहन्छन् । यसैले उनीहरुको शरीरमा सधै प्रायः फोहोर कट्कटिएको हुन्छ । उनीहरुको शरिर पुरै ढाक्ने कपडा छैन, स्कूल जान पाएका छैनन् । दिनभरि चिसो भुईमा खेल्छन्, बस्छन् र सुत्छन् । आमाबाबुलाई महानगरपालिकाले ५ वर्ष मुनिका दलित बालबालिकालाई मासिक ५ सय रुपैयाँ पोषणभत्ता दिन्छ भन्ने पनि थाहा छैन । यसैले उनीहरुले पोषण भत्ता पनि पाएका छैनन् ।
लल्कु र कृष्णका बाबुआमा उनीहरुलाई घरमै छाडेर दिनभरि विराटनगर बजारमा सफाईको काम गर्न जान्छन् । अनि कृष्ण र लल्कु दाजुभाई मिलेर दिन बिताउँछन् । तर, जन्मैदेखि दुबैले एकअर्कालाई हेर्न पाएका छैनन् । उनीहरु हातेमालो गर्छन् र सँगै खेल्छन् । धेरैपल्ट उनीहरु खेल्दाखेल्दै खोलामा डुब्नबाट बाँचेका छन् । बाटो भड्केर हराउनबाट जोगिएका छन् ।
जातले थिचिएका अनि भाग्यले ठगिएका दृष्टिविहिन बालक लल्कु र कृष्णका तीन जना बालक दिदीहरु छन् । पढ्नुपर्ने किशोर उमेरका उनीहरु गरिबीले गर्दा घरेलु श्रमिकको रुपमा अन्तै काम गर्न बाध्य छन् । आमाबाबु काममा गएपछि आँखा नदेख्ने कृष्ण र लल्कुले दिनभरी घर रुँग्ने गरेका छन् । आमाबाबु काममा गएपछि उनीहरु दिनभरि कहिले घरभित्र पस्छन्, कहिले बाहिर आँगन र बाटोतिर टहलिन्छन् । कहिलेकाँही छिमेकीहरुले माया गरेर खाजा दिए भने खान्छन् । नभए साँझ आमाबाबु नआउञ्जेलसम्म भोकभोकै पर्छन् । उनीहरुलाई गाउँलेहरुले कयौं पटक नजिकैको खोलामा बग्न र हराउनबाट जोगाएका छन् । धेरैपटक कुकुर र सुंगुरको टोकाइबाट कृष्ण र लल्कु घाइते भइसकेका छन् ।
आमा निर्मलाले दृष्टिविहिन भएपनि पढाउनुपर्छ भनेर जेठो छोरा लल्कुलाई स्कूल भर्ना गरिदिइन् । तर, आँखामा घाउ भएको र फोहारी सानो जातको भन्दै साथीहरुले छिछी र दुरदुर गरेपछि लल्कुले घृणा सहन नसकेर स्कूल छाडिदिए । ठूलो छोराले स्कूल छाडेपछि सानो छोरालाई पनि उस्तै विभेद त हुन्छ नि भन्दै बाबु छोटु र आमा निर्मलाले कान्छो कृष्णलाई पनि स्कूल पठाउन चाहेनन् । बाबुआमाका अनुसार आजसम्म कुनै सरकार र संघसंस्थाले कृष्ण र लल्कुको अवस्थाबारे जानकारीसम्म लिएका छैनन् ।
केहीदिन विद्यालय गएका लल्कुलाई अहिले पनि पढ्ने इच्छा छ । तर, सबैले छिछिः र दुरदुरः गर्ने र आँखा पनि नदेख्ने भएकोले फेरि पढ्न पाईन्छ भनेर उनले सोचेका पनि छैनन् । भाई कृष्णलाई पनि साथीहरु स्कूल पढ्न जान्छन् भनेको सुन्दा आफूलाई पनि जाउँजाउँ लाग्छ । दुबैले यो अवसर पाएका छैनन् । छोराहरुले पढ्न पाउन र उनीहरुको उपचार होस् भन्ने परिवारको चाहना छ । आमा निर्मला यसको लागि दिनरात भगवान भाकिरहेकी छन् । तर, उनीहरुको गुहार कसैले सुनेको छैन ।
माथिको कथाव्याथा २९ मंसिर २०७८ मा हाम्रोमत दैनिकमा प्रशिक्षार्थी पत्रकार स्मृति तिम्सिनाको वाइलाइनमा प्रथम पृष्ठमा छापिएकोे समाचारको तथ्यगत विवरण हो । यो समाचार पढेपछि मलाई अझै पिरोलिरहेको छ । धेरै दुःखदायी समाचारहरु मैले पनि धेरै लेखेको छु । धेरैले राहत पनि पाएका छन् । धेरैका जीवन उद्धार गर्न सहयोगी पनि बन्न पाइएको छ । तर, यो समाचार प्रकाशित भएपछि उनीहरुलाई अझैसम्म कसैले राहत दिएको वा सरकारले उनीहरुको संरक्षण समृद्धनमा चासो दिएको मैले सुनेको छैन । कतै केही सहयोग गराउन सकिन्छ कि भनेर आफूले काम गर्ने काठमाडौंको मुलधारे भनिने मिडियामा समाचार पनि पठाएँ । तर, राजनीतिक गतिबिधिको जगजगी भएको बेला कष्टकर जीवन बाँचिरहेका लल्कु र कृष्णको समाचार नै छापिएन ।
अर्को उनीहरुको कथाव्यथा बाहिर आएपनि न त पालिका न त प्रदेश सरकार कसैले पनि कुनै चासो दिएको थाहा पाएको छैन । के जातले दलिएका अनि भाग्यले ठगिएका मरिक बालक दाजुभाई कृष्ण र लल्कुलाई यो समाजमा सम्मानपूर्वक बाँच्ने अधिकार छैन ? के उनीहरुलाई शिक्षा पाउने अधिकार छैन ? आफ्ना आमाबाबुले झै उनीहरुले पनि भोलि रोगी र मगन्ते बनेर जीवन गुजार्नुपर्ने विवशता कहिल्यै अन्त नहुने नै हो ?
हामीलाई माफ गर ! दृष्टिविहिन दलित बालक दाजुभाई लल्कु र कृष्ण । हाम्रो देशमा भएको लामो सशस्त्र जनयुद्ध र सबैखाले जनआन्दोलनले शासन प्रणाली त परिवर्तन गर्यो । तर, व्यवहार परिवर्तन गर्न सकेन । सोच परिवर्नन भएन । संबिधान निर्माणपछि देश समाजवादउन्मुख भएको भनेपनि व्यवहार नयाँ नेपाल नारामा व्यवहार पुरानै पारामा’ नै रह्यो । संघीयता कार्यान्वयन भयो । तीन तहका सरकार बने । तर, तिमीहरु जस्ता महादलितका लागि कुनै परिवर्तन हुन सकेन । किनभने तिमीहरुलाई अझै मान्छे नै मानेको छैन । तिमीहरु त मान्छे हैनौं, मात्रै फोहोर सोहोर्ने डोम( डुम) मात्रै हौं । संबिधानमा कागजी रुपले पहिलो दर्जा बनाएर मात्र के गर्नु ?
हुन त संबिधानले कसैलाई बिभेद गरेको छैन । सुरक्षित रुपले पढ्ने, बढ्ने मात्र नभएर उपचार र शिक्षा पाउने सबैको हक संबिधानमा सुरक्षित छ । तर, कृष्ण र लल्कुले त्यो अधिकार कसरी प्रयोग गर्ने भन्ने प्रश्नको उत्तर कसैसँग छैन । फेरि पनि माफ गर ! कृष्ण र लल्कु, न त तिम्रो समस्या बुझ्ने हामीजस्ता पत्रकारहरु कहिल्यै शासक बन्न सक्छौं न त प्रशासक हुन्छौं । हामी त मात्र तिमी र तिम्रो समुदायले भोगेको समस्या बाहिरै ल्याइदिन सक्छौ । संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा त राज्य सरकारकै हो । तिमी र तिम्रो समुदायका लागि निरन्तर आवाज उठाउन भने हामी छाड्ने छैनांै ।