उर्लाबारी । लकडाउन उल्लंघन गर्ने क्रम नरोकिएपछि मोरङको उर्लाबारी नगरपालिकाका मेयर आफैं सडकमा ओर्लनुभएको छ ।
सम्झाउँदा पनि हिँड्न नछाडेपछि र प्रहरीको अनुरोध अस्वीकार गर्दै सडकमा गतिबिधि बढेपछि मेयर खड्ग फागो आफैं भाटे कार्वाहीमा उत्रनुभएको हो ।
बुधबार पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा प्रहरीसँगै सडकमा खटिएर मेयरले लकडाउन पालना गर्न आग्रह गर्नुभएको थियो । आग्रहको अवज्ञा गरी जबरजस्ती गर्ने र विनाकाम घुमफिर गर्नेलाई भाटाले हान्दै फागोले लखेट्नुभएको थियो ।
लकडाउन उल्लंघन गर्दै हिँड्न थालेपछि भाटे कारबाही गरेको उर्लाबारी प्रहरीले जनाएको छ । मेयर फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ ।
अनावश्यक रुपमा हिँड्नेलाई भाटे कार्वाही गरिएको मेयर फागोले जानकारी दिनुभयो । लकडाउनको समयमा घर बाहिर ननिस्किन उर्लाबारीबासीलाई फागोले अनुरोध गर्नुभएको छ । बुधबार उर्लाबारी प्रहरीले लकडाउन पालना नगर्ने दुई दर्जन बढी मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको छ ।
सरकारले मंगलबारदेखि एक साताका लागि लकडाउन गरेको छ ।
https://www.facebook.com/hamromatnews/videos/1132959530414145/