विराटनगर । पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशै भर पर्ने भएको छ ।
सोमबार देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई यी प्रदेशहरुका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। सो प्रणाली बिहीबार देखि क्रमिक रुपमा कमजोर बन्दै जाने संभावना रहेको छ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ ।