विराटनगरस्थित काली मन्दिरमा तामाको छाना राखिने

विराटनगर । विराटनगरको प्रसिद्ध शक्तिपीठ काली मन्दिरको बाहिरी स्वरूपमा तामाको छाना लगाइने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा.मिनाक्षी नेपालले तीन तहको छानामा तामाको पाताले छाउने काम सुरु गरिएको बताइन् । मन्दिरको बाहिरी स्वरूप परिवर्तनका लागि तीन हजार किलोग्राम तामाको प्रयोग गरिने छ । तामाको पाताले छाएसँगै त्यसमा ‘गोल्डेन कलर’ (सुनौलो रङ) ले रङ्ग्याइने छ । झण्डै ६० लाख रुपैयाँको लागतमा बाहिरी स्वरूप परिवर्तन गरिसकेपछि मन्दिरको भित्री परिसरलाई समेत सौन्दर्यीकरण गर्ने योजना रहेको उनले बताइन् ।

वि.सं. १९६० मा स्थापना भएको काली मन्दिर विराटनगरको प्रसिद्ध शक्तिपीठ मानिन्छ । दशैँंमा नौरथा पूजा आराधना गर्ने काली मन्दिरमा पशुबलि दिने गरिन्छ । मन्दिरको स्वरूप परिवर्तनका लागि काठमाडौँबाट इन्जिनियरसहित १० जनाको कालीगढ टोली झिकाइएको छ ।

स्थापनाताका सामान्य स्वरूपमा रहेको काली मन्दिर वि.सं.२००० मा पुनर्निर्माण गरिएको थियो । त्यसबेला सुर्कीचुना र इँटाको प्रयोग गरेर तत्कालीनको पक्की संरचना बनाइएको भनाइ छ । त्यसबेला पित्तलबाट बनेको कालीको मूर्ति चढाइएको थियो । त्यसपछि २०५३ सालमा काली मन्दिरको कङ्क्रिट संरचना निर्माण गरिएको थियो ।

शनिबार, १० पुष, २०७८, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर