हिमालय रोडको सौन्दर्यकरणको काम रोकिन्न : पराजुली

विराटनगर । विराटनगरको जनआन्दोलन चोकदेखि ट्राफिक चोकसम्मको सडकलाई सौन्दर्यकरण गरी शान्त क्षेत्र बनाउने महानगरको योजना कसैका विरोधकै आधारमा रोक्न नसकिने विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताएका छन् । विराटनगरको गरिमा बढाउने योजना रोकिने कुनै सम्भावना नरहेको भन्दै निर्माण कार्य जारी रहने उनले बताएका हुन् ।

सौन्दर्यकरणको धेरै काम अगाडि बढिसकेको र संरचनाहरु निर्माण निकै अघि बढिसकेको अवस्थामा विरोधको अर्थ नभएको भन्दै प्रमुख पराजुलीले नयाँ अवधारणा अगाडि सार्दा विरोध हुनु स्वभाविक भएपनि दुरगामी रुपमा यसबाट फाइदा हुने उनले बताए । यसले विराटनगरको नयाँ पहिचान हुने पनि उनको भनाइ थियो ।

विरोध गर्नेहरुले वास्तविकता नबुझेर विरोध गरेको हुनसक्ने भन्दै उनले यस परियोजनाको विषयमा सबैले कुरा बुझ्ने विश्वास व्यक्त गरेका छन् । उनले हिमालय रोडमा निर्माण भएको संरचनाले यातायातका साधन सञ्चालन गर्न कुनै वाधा नहुने पनि बताएका छन् । स्मार्ट सिटीको अवधारणा लिएर हिडेको सहर र यहाँका नागरिकले यस्ता विषयमा विरोध होइन त्यसलाई अझ व्यवस्थित गर्ने विषयमा ध्यान दिएर सुझाव दिनुपर्ने उनको भनाइ छ ।

उनले जनआन्दोलन चोकको ऐतिहासिकता र महत्वलाई नष्ट गर्ने भन्दा स्थायी मञ्च निर्माण गरी त्यसको स्थायित्व दिने योजनामा महानगर रहेको पनि बताए । त्यसबाट जनआन्दोलन चोकको गरिमासमेत जगेर्ना हुने उनको भनाइ छ । उनले सौन्दर्यकरणको काम सम्पन्न भएपछि बिहान र दिउँसो त्यसक्षेत्रबाट सवारीका साधन सञ्चालन हुने र साँझमा मात्र बन्द हुने अवस्था आउने पनि उनले सुझाए । उनले सबै पक्ष र सरोकारवाला पक्षसँग छलफल गरेर परियोजना अगाडि बढाएको मेयर पराजुलीले बताएका छन् ।

हिमालय रोडमा निर्माण भइरहेको संरचना निर्माणको काम रोक्न विराटनगरका केही अगुवा नागरिकहरुले माग गरेपछि मेयर पराजुलीको यस्तो प्रतिक्रिया आएको हो । हिमालय रोडको सौन्दर्यकरण परियोजनाको विरोधमा स्थानीय सरोकारवालाहरुले संघर्ष समिति बनाएर विरोध पनि गर्दै आएका छन् ।

शुक्रबार, ०९ पुष, २०७८, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर