कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मत परिणाम बुधवारसम्म आइसक्ने

काठमाडौं । नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत गएको मङ्सिर २७ गते सोमवार भएको चुनावको अन्तिम परिणाम भोलि बुधवारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारीसहित एक सय ३४ पदका लागि भएको चुनावको अहिलेसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ ।

अहिले वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आज मङ्गलवार नै बाँकी रहेको थारु, खसरआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधवारसम्म एक सय ३४ पदकै अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले बताए।

विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक हप्ताभन्दा लामो समय लागेको हो ।

 

-रासस

मङ्गलबार, ०६ पुष, २०७८, दिउँसोको ०३:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर