साफ उपविजेता खेलाडी र प्रशिक्षकलाई सरकारद्वारा सम्मान

काठमाडौं । सरकारले १३औं साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफमा पहिलो पटक उपविजेता बन्दै इतिहास रचेको भन्दै नगदसहित सम्मान गरेका हुन्।

टिमका २३ खेलाडी र तीन प्रशिक्षकलाई नगद तथा व्यवस्थापकसहित ४ पदाधिकारीलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्ययायले बताए ।

साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ५-५ लाख र तीन प्रशिक्षकलाई ३ लाखका दरले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा रहेका छन् ।

प्रशिक्षकहरुमा अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ, विकास मल्ल सम्मानित भएका हुन् । माल्दिभ्समा अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म आयोजना भएको साफमा नेपाल पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको थियो । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

मङ्गलबार, ०६ पुष, २०७८, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर