प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले विरोध कायम राख्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूर्ववत् विरोधका कार्यक्रमहरू कायमै रहेको बताए ।

आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो । त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ । सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् ।

कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

मङ्गलबार, ०६ पुष, २०७८, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर