काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आरोप लगाएका छन् ।
आज समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीले संसदमा अवरोध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताए ।
साथै उनले अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद् अवरोध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे ।
अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए ।
उनले भने, ‘अदालतको ह्विप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिनभित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लङ्घन पनि छैन । संविधानको मर्म र भावनाको उल्लङ्घन पनि छैन ।
तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने, कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न कि भनेको आउनुभयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने ।
योभन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरङ्कुश चरित्र अरू केही हुन्छ रु उहाँको अघि यो त प्रस्ट नै छ । निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ । संसद्ले स्वीकार गरेको छ ।
पाँच दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ । त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिलकुल लोकतन्त्रविरोधी निरङ्कुश हो भन्ने कुरा प्रस्ट नै देखिन्छ ।’
अध्यक्ष दाहालले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए । ।