विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरुको मनपरी ब्याज लिने तरिकाले उद्योगीहरु मारमा परेको भन्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
परिसंघले बैंकको मनपरी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरुको ज्यादतीको विषयमा आन्दोलन गर्ने बताए । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बैंकको ज्यादतीका विरुद्धमा हामी आन्दोलन गर्छौं ।’
पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले बैंकहरु कमाउने धन्दामा लागेको आरोप पनि लगाए । बैंकले २० प्रतिशत भन्दा बढी नाफा कमाएर अपराध गरिरहेको बताउँदै उनले त्यसो गर्नेलाई राज्यले कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘हामीले सुरुदेखि उठाउँदै आएको पूँजी निर्माणको लागि, निक्षेप बढाउन ब्याज वृद्धि होइन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउन अति आवश्यक छ,’ घिमिरेले भने, ‘बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरि कायम गर्न र उत्पादन, पूर्वाधार जस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरि मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो ब्याज दरको व्यवस्थालाई स्थिर र निरन्तरता राख्ने पहल गर्न हामी हार्दिक अपिलका साथ पुनः गम्भीर ध्यानाकर्षण गर्दछौं ।’
मुलकका बैंकहरू राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंकहरु प्रेरित भएको बताए । ‘नेपालमा र यिनका गतिविधिहरु नाफा कमाउने व्यापारी, अझ भनु भने पुराना साहुमहाजन जस्तो पुरातनवादी भएका छन् र यसको प्रत्यक्ष उदहारणका लगानीको लागि पेस हुने कागजातमा सबै लगानीसँग असम्बन्धित परिवारका सबैको जमानी लिएर मानसिक दवाव सिर्जना गर्ने परिपाटीलाई लिन सकिन्छ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक अवस्था चलायामान र पूँजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक वित्तीय संस्था रहेको परिसंघले ठहर पनि गरेको छ । ‘एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, फिक्स डिपोजिटमा ब्याज बढी दिई रहेका छौं भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याजसमेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिलेसम्म चल्छ ?’, विज्ञप्तिमा भनिएको छ, ‘देशमा औद्योगीकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाउने बढाउने खेलमा उद्योगहरू चैं धरासायी हुने र सरकार र केन्द्रीय बैंकले अरू बैंकलाई पाल्ने काम मात्र गरि सरकारले यी नयाँ जÞमानाका साहू महाजन विकास गर्नेतर्फ लागेको हामीलाई महशुस हुन थालेको छ ।’
उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरकफरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था कहाँ र कसरी चलेको छ भन्ने कुरा मुलुकको केन्द्रीय बैंकलाई जानकारी छैन र ? भन्ने प्रश्न गरे । ‘यसलाई केन्द्रीय बैंक एवम् सरकारले अनदेखा गर्न कदापि हुँदैन भन्ने कुरा हामी राख्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्द नै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् । यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ । ‘मुलुकको अर्थतन्त्र ठप्प हुनबाट जोगाउन हामी नेपाल राष्ट्र बैंक तथा नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सिएनआईका संरक्षक उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । पछिल्लो समय बैंकका कारण अन्तर्राष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छवी समेत धुमिलिएको उद्योगी सारडाको भनाइ छ । ‘बैंकको साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्त राखिरहेका छन्,’ सारडाले भने, ‘पाँच करोड भए कर्जा माग्दै जानुपर्दथ्यो ?’ वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरु स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी एवं सिएनआईका सल्लाहकार महेश जाजुको दाबी छ ।
यस्तै परिसंघले बिमा क्षेत्रमा पनि विकृति मौलाएको बताउँदै बिमा आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिएका छन् । ‘बिमा गराउने उद्योगी व्यवसायीको रुची र आफ्नो इच्छा अनुसार बिमा गराउन पाउनु पर्दछ र यहाँ त सबै विषयहरू जुन आवश्यक नै हँुदैन तिनीहरू समेत गाभेर बिमा गराउने गरिएको छ र यसैमा प्रिमियमसमेत धेरै राख्ने गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामी यसको तुरुन्तै सुधारको माग गर्दछौं ।’