विराटनगर । कृषि उपजलगायत लामो समयसम्म भण्डार गरेर राख्नुपर्ने वस्तुहरुलाई वातानुकुलित बनाउने आधुनिक प्रविधिको वेयर हाउस अर्थात सितभण्डार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डबारे सरोकारवालाहरुबीच छलफल भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को आयोजनामा विराटनगरमा वेयर हाउस पूर्वाधारका मापदण्ड तर्जुमा सम्बन्धि सार्वजनिक निजी सम्वाद सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीले कृषि क्षेत्रमा वेयर हाउसको प्रयोगको अवस्था र आवश्यकताबारे आधारभूत सर्वेक्षणको आवश्यकता रहेको बताए । उनले आवश्यकता पहिचान गरेपछि सरकारले पनि मापदण्ड बनाएर सार्वजनिक र निजी क्षेत्रसँग सहकार्य गरी वेयर हाउस निर्माण गर्न अभिप्रेरित गर्ने उनको भनाइ छ ।
महासंघ प्रदेश समितिका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा किसानहरुलाई सशक्तिकरण गर्न, कृषि उत्पादनलाई बृद्धि गर्न र उत्पादित खाद्यान्न वस्तुहरुको पोषण संरक्षण गर्न वेयर हाउस अतिआवश्यक रहेको सहभागीहरुले बताएका थिए । सहभागीहरुले सरकारले वेयर हाउस निर्माण गरी तल्लो तहमा रहेका किसानलाई सहुलियत रुपमा सित भण्डारणको सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का सल्लाहकार अविनाष बोहराले नेपालमा ४३ वटा वेयर हाउसहरु संचालनको अवस्थामा रहेपनि अघिकांश घाटामा चलिरहेको बताए । वेयर हाउस संचालनपूर्व किसानहरु उत्पादन र बजारीकरणका लागि पनि सशक्त बन्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा प्रदेश १ मा वेयर हाउस सम्बन्धि मापदण्डबारे वासुदेव अधिकारीले प्रस्तुतिकरण गरेका थिए । उनले प्रदेश १ मा १७ वटा वेयर हाउस संचालन रहेको जानकारी दिए । वेयर हाउस संचालनका लागि उपयुक्त स्थान, विद्युत आपूर्ति, यातायात र मौसम अनुकुल स्थान छनौट गर्नुपर्ने उनको भनाइ छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले सरकारले वेयर हाउस संचालन र व्यवस्थापनका लागि नियमावली ल्याएर पहिलो चरणको काम अघि बढाएको बताए । साथै कानुन नै निर्माणको प्रक्रिया अघि बढाएपनि संघ र प्रदेशबीचको अधिकार बाँडफाँटका समस्याले त्यसलाई अघि बढाउन नसकिएको उनको भनाइ छ ।
कार्यक्रममा झापा, मोरङ, सुनसरी, तेर्थुपम, खोटाङ, इलाम लगायतका जिल्लाबाट आएका कृषि सम्बन्धि संघसंस्थाका प्रतिनिधिहरुले वेयर हाउस निर्माण र संचालन गर्दा भोग्नु परेका कठिनाईहरुबारे छलफल भएको महासंघका कार्यकारी निर्देश श्याम भण्डारीले जानकारी दिएका छन् ।