विराटनगर । शरीरमा फोहोर कट्कटिएको थियो । गञ्जिमात्र लगाएर सिमेन्टको चिसो भुँईमा यसै पल्टिरहेका थिए, ४ वर्षे कृष्ण मरिक । उनका ७ वर्षे दाजु लल्कु आँगनतिर खेल्दैथिए ।
भाइको शरीरमा टाँसिएको फोहोर सफा गर्ने सामथ्र्य लल्कुमा थिएन । किनभने उनको आँखाले अहिलेसम्म संसार देख्न पाएको छैन । कृष्णले पनि दाजुलाई देखेका छैनन् । उनी पनि दृष्टिविहीन् हुन् ।
दिनभरी लल्कु र कृष्ण घरमै बस्छन् । आँखा नदेख्ने दुबै दाजुभाइलाई घरमा छोडेर बाबुआमा कामका लागि बिहानै सहरतिर निस्किन्छन् । दुई दृष्टिविहीन बालकहरु यसरी नै हुर्किरहेका छन् । लल्कु र कृष्णका तीन जना दिदीहरु छन् । उनीहरु घरेलु श्रमिकको रुपमा अन्यत्रै काममा लागेका छन् । दिनभरी घर कुर्ने जिम्मेवारी दुई दृष्टिविहीन बालकहरुको काँधमा छ ।
उनीहरु कहिले घरभित्र पस्छन्, कहिले बाहिर आँगन र बाटोतिर टहलिन्छन् । कहिलेकाँही छिमेकीहरुले माया गरेर दिएको खाजा खान्छन् । गाउँलेहरुले कयौं पटक बालकहरुलाई नजिकैको खोलामा बग्नबाट बचाएका छन् । दृष्टिविहीन बालकहरु खेल्दै नजिकै रहेको सिंगिया खोलातिर जाँदा गाउँलेहरुले जोगाएर फर्काएका हुन् । घरमै बस्दा पनि धेरैपटक कुकुर र सुंगुरको टोकाइबाट बालकहरु पीडित भएका छन् ।
अभिभावक घरमा बस्न नपाउने भएकाले केही वर्ष अघि निर्मलाले लल्कुलाई स्कूल भर्ना गरिदिइन् । तर, लल्कुले स्कुललाई निरन्तरता दिन सकेनन् । लल्कु पढ्ने स्कूल दृष्टिविहीनका लागि थिएन । त्यहाँ ब्रेललिपीको सुविधा र पढाउने शिक्षकको प्रवन्ध पनि थिएन । त्यसैले उनले स्कूल छोडे ।
स्कूल जाँदा लल्कुलाई देखेर साथीहरु घिनाउँथे । उनी दृष्टिविहीन मात्र थिएनन्, उनको आँखामा एक प्रकारको घाउ थियो । त्यही घाउ देखेर उनका साथीहरु सँगै बस्न मान्दैनथे । लल्कुले स्कूललाई निरन्तरता दिन नसकेपछि बाबु छोटु र आमा निर्मला मरिकले सानो छोरालाई विद्यालय पठाउने बारेमा सोच्दै सोचेनन् ।
लल्कुलाई अहिले पनि पढ्ने इच्छा छ । ‘मलाइ पढ्ने रहर छ, स्कूल जाने र पढ्ने इच्छा छ । तर, आँखा नै देख्दिन,’ उनी भन्छन् । अरुका छोराछोरी झैं आफ्ना छोराछोरी पनि स्कूल पढेको हेर्ने चाहना निर्मलाको थियो । तर, दुई कारणले उनीहरुले छोराछोरीलाई स्कुल पढाउन सकेनन् । कमजोर आर्थिक अवस्था र छोराहरुको स्वास्थ्यका कारण उनीहरुको छोराछोरी पढाउने चाहना अधुरै छ ।
‘अरुको जस्तै मेरो बच्चाहरु पनि स्कूल गएको हेर्न मलाई रहर लागेको छ, छोराछोरी पढाएर ठूलो मान्छे बनाउने चाहना छ,’ निर्मलाले भनिन् ‘तर, गरिबी र आँखाका कारण पढाउन सकेका छैनौं ।’ भविष्यमा दृष्टिविहीन बालकहरुको अवस्था के होला भन्ने चिन्ताले निर्मलालाई सँधै सताइरहन्छ ।
विराटनगर ८ स्थित आदर्श टोलमा बस्ने मरिक परिवारमा जन्मिएका दुबै बालकहरुमा जन्मदै आँखा थिएन । आँखाको ठाउँमा घाउ लागेको थियो । त्यो घाउबाट पानी बगिरहने भएका कारण बालकहरुसमेत समस्यामा छन् । दिनहुँ हातमुख जोर्ने समस्याले छोटु र निर्मलाले छोराछोरीका लागि आवश्यक समय दिन सकेका छैनन् ।
छोटु र निर्मला अस्पतालहरुमा सफाइ कर्मचारीको रुपमा काम गर्छन् । छोटुको रक्सी पिउने बानी छ । रक्सी पिएर आमालाई कुटपिट गर्ने गरेको कुरा दुबै बालकहरुलाई थाहा छ । गरिबीका कारण पीडित परिवारमा दिनहुँ रक्सी खाने छोटुको व्यवहारले झन् पीडा थपेको छ । आर्थिक विपन्नताले बालकहरुको उपचारका लागि उनीहरुको ध्यान नै गएको छैन ।