माओवादी प्रदेश १ नेतृत्वमा रस्साकस्सी : हेम कार्की (विशाल)को अध्यक्षमा दाबी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोरङ विराटनगरका हेम कार्की (विशाल)ले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

गत पुस २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी प्रदेश १ को प्रथम अधिवेशनले २७४ सदस्यीय कार्यसमिति चयन गर्दै पदाधिकारी चयनलाई भने थाती राखेको थियो । हिंजो बसेको माओवादी बैठकले पदाधिकारी चयनका लागि नाम तयार पारेर सुझाव दिन भन्दै पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वको कार्यदल गठन गरेको छ ।

कार्यदलले काम सुरु गरेसँगै अध्यक्षमा दाबी गर्ने क्रम थपिएको हो । यसअघि पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँगीले अध्यक्षमा दाबी गर्दै प्रचारबाजी गरिरहेका छन् । भोजपुर जन्मथलो भएका कार्कीले पनि आफ्नो दाबी अध्यक्षमा रहेको दाबी गरे । ‘२०४७ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेको म २०५३ सालदेखि माओवादीमा लागेको हुँ’, कार्कीले भने, ‘अहिलेसम्म २५ वर्षसम्मको लामो राजनीतिक अनुभव र विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको कारण मैले प्रदेश १ अध्यक्षमा दाबी गरेको छु ।’

बदलिएको परिस्थिति अनुसार चुनौतिको सामना गर्ने योग्य पार्टी निर्माण गर्ने र युवाको आकर्षणको केन्द्र बनाउने उनले लक्ष्य लिएका छन् । माओवादी पार्टीलाई व्यवस्थित, चुस्त–दुरुस्त, आउँदो निर्वाचनमा ०६४ सालको जस्तो अवस्थामा पार्टीलाई पुर्याउने आफ्नो योजना रहेको कार्कीले बताए । उनले सम्पूर्ण कार्यकर्तालाई समानताका आधारमा कार्यविभाजन र वृत्तिविकासलाई ध्यान दिने पनि बताए ।

‘प्रदेश कार्यालय भवन बनाउने, प्रदेशका सबै पालिकामा पार्टी कार्यालय निर्माण गर्ने, माक्र्सवाद, लेनिनवादको शिक्षामा बढोत्तरी, समाजवादी गणतन्त्रका लागि योग्य संगठन निर्माण गर्ने मेरो लक्ष्य हो,’ उनले भने, ‘पार्टीका सबै तहमा समानुपातिक र समावेशी उपस्थिति मेरो मर्म हो ।’

०५५ सालमा माओवादी जनयुद्धमा पूर्णकालिन भएका कार्कीले ५५ कै अन्तिममा भोजपुर, संखुवासभा, धनकुटा र तेह्रथुमको संयुक्त जिल्ला समिति सदस्य, ०५६ सालमा तेह्रथुम एरियाको सेक्रेटरी, ०५८ सालमा भोजपुर एरियाको सेक्रेटरी भए । ०५९ सालमा क्षेत्रीय ब्यूरो सदस्य हुँदै विशेष जिल्लाको सेक्रेटरी, ०६० देखि ०६२ सम्म सिलिचोङ आधार जिल्ला (पूर्वका आधार इलाका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा) को इन्चार्ज भएका कार्की ०६२ मंसिरबाट ०६३ जेठसम्म जनमुक्ति सेनाको सोलुसल्लेरी स्मृति बटालियनको कमिसारसमेत भए । त्यसबेलाको पूर्वको दर्जनौं फौजी लडाइँमा सहभागी भएका कार्की ०६३ असारदेखि भोजपुर जिल्ला सेक्रेटरी र ०६४ सालबाट ०६५ अन्तिमसम्म तेह्रथुम जिल्लाको इन्चार्ज भए । २०७३ सालमा भएको पार्टी एकतापछि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएका कार्की हाल प्रदेश समिति सदस्य हुन् ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर