विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को सचिव पदमा मोरङका गणेश उप्रेती (सुशील)को एक मात्र दाबेदारी देखिएको छ । उप्रेती हाल मोरङ जिल्ला समन्वय समितिका संयोजक हुन् ।
मोरङ प्रदेश १ मै सबैभन्दा धेरै पार्टी सदस्य भएको जिल्ला हो । मोरङबाट मात्रै प्रदेश प्रतिनिधिमा ४६ जना चयन भएका थिए । उप्रेतीलाई सचिव बनाउने पक्षमा मोरङका सबै नेताहरु एकमत देखिएकोले उनकै पक्षमा निर्णय हुने सम्भावना देखिएको छ । हालसम्म माओवादी प्रदेश १ को सचिवका लागि कसैले पनि दाबी गरेका छैनन् ।
गत पुस २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी प्रदेश १ को प्रथम अधिवेशनले २७४ सदस्यीय कार्यसमिति चयन गर्दै पदाधिकारी चयनलाई भने थाती राखेको थियो । हिंजो बसेको माओवादी बैठकले पदाधिकारी चयनका लागि नाम तयार पारेर सुझाव दिन भन्दै पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीसमेत रहेका छन् ।
०५३ सालदेखि अखिल क्रान्तिकारीको सम्पर्कमा आएका उप्रेतीले ०५४ सालमा माओवादी पार्टीको सदस्यता लिएका हुन् । ०५४ सालमै मोरङ गोविन्दपुरबाट अखिल क्रान्तिकारीको सम्मेलनबाट प्रथम अध्यक्ष बनेका उप्रेती पढाइको शिलशिलामा इलाम पुगे । ०५५ सालमा पहिलो इलाम जिल्ला सम्मेलन विद्यार्थीको सचिवमा निर्वाचित भए । माओवादी विद्यार्थी संगठनको इतिहासमा पूर्वमै पहिलो पटक उक्त सम्मेलन भएको थियो । सम्मेलनको क्रममा प्रहरीले धरपकड गर्दा पनि उप्रेतीलाई अन्य विद्यार्थीले छुटाएका थिए ।
०५६ सालमा गिरफ्तारीमा परेका उप्रेती ०५८ सम्म जेल परेका थिए । जेलबाट छुटेपछि ०५९ सालमा इलाम माओवादीको जिल्ला सचिव बनेका उनी ०६० मा भूमिगत ढंगले निकालेको माओवादीको मुखपत्र जनविद्रोह दैनिकको प्रधान सम्पादक र सोही पार्टी कमिटीको इन्चार्ज भए ।
शाहि घोषणा पछिको निर्वाचन हुनुभन्दा अगाडिदेखि पुनःः गृहजिल्ला झरेका उप्रेती मोरङ पार्टीको इन्चार्ज हुँदै हालसम्म मोरङको नेतृत्वमा रहेरै काम गरिरहेका छन् । लेखन, साहित्य र वैचारिक बहसमा रुची राख्ने उप्रेतीका १ वटा कथासंग्रह र १ वटा कविता संग्रह प्रकाशित छन् । ‘पार्टीमा लागेको २५ वर्षदेखिको अनुभव र मोरङको एकमत भएको कारण मेरो सर्वसम्मत पार्टी सचिव हुने देखिन्छ,’ उप्रेतीले भने, ‘निरन्तर पार्टीको संस्थापन लाइनमा मोरङमा एक भएर लागेको छु, नेकपा एक हुँदा पनि मोरङमा माओवादी लाइनको रक्षाका लागि पटक पटक विवाद र बहसमा खरो उत्रिएको छु ।’ पार्टीको वैचारिक लाइनमा खरो देखिने उप्रेतीले मोरङलाई न्याय गर्नका लागि पनि आफूलाई सचिव बनाउनु पर्नेमा जोड दिएका छन् ।
उप्रेती बाहेक मोरङबाट पदाधिकारी दाबी गर्नेहरुमा मोरङका भोगेन्द्र यादव, हेम कार्की विशाल, खेम भट्टराई (दीपक), कुल प्रसाद साम्बा (कुशल)लगायतका रहेका छन् ।