विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा सुनसरी माओवादीका सहइन्चार्ज शिवकुमार डाँगीले सशक्त दाबी गरेका छन् ।
गत पुस २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी प्रदेश १ को प्रथम अधिवेशनले २७४ सदस्यीय कार्यसमिति चयन गर्दै पदाधिकारी चयनलाई भने थाती राखेको थियो । यसअघि अध्यक्षका लागि माओवादीका केन्द्रीय सदस्यत्रय सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले दाबी गरेका थिए । पदाधिकारीको टुंगो लगाउन भन्दै आज बसेको माओवादी प्रदेश समितिको बैठकमा तीन जनाले दाबी छोडेपछि नेतृत्वको लागि डाँगीले पनि अध्यक्षमा दाबी गरेका हुन् ।
‘अबको माओवादी प्रदेश १ अध्यक्षमा मेरो सशक्त दाबी छ,’ उनले भने, ‘तीन केन्द्रीय सदस्यले प्रदेश अध्यक्षमा छोडेपछि हाम्रो पालो आयो, अब हामीले दाबी किन नगर्ने ? ममा के कमजोरी छ ? ।’ डाँगी माओवादी १ नम्बर प्रदेशका सञ्चार विभागका इन्चार्ज तथा सुनसरी माओवादीका सहइन्चार्ज पनि हुन् ।
०५३ सालमा एमाले निकट अनेरास्ववियु (अखिल)को काठमाडौं जिल्ला समिति अध्यक्ष भएका डाँगी ०५४ सालमा विभाजित एमालेबाट माले बनेका थिए । त्यसपछि माले निकट अनेरास्ववियुको अञ्चल कमिटीको अध्यक्ष र केन्द्रीय समिति सदस्य रहेका डाँगी २०५८ सालको सुरुदेखि नै माओवादी आन्दोलनमा लागेका हुन् । उनी त्यसबेला अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएका थिए । २०६० सालमा जनमुक्ति सेनाको कम्पनी कमिसार हुँदै बटालियन कमिसारसम्म भएका डाँगी सोही वर्ष विद्यार्थी संगठनको मेची–कोशी संयोजकसमेत भए । यस्तै डाँगीले ०६० वैशाखदेखि निस्किएको जनविद्रोह दैनिकको सम्पादकको भूमिका समेत निर्वाह गरेका थिए । शान्ति प्रक्रियापछि निरन्तर मूलधारमा रहेर पार्टी गतिविधिमा संलग्न डाँगी २०६६ मा सुनसरी जिल्ला पार्टीको सचिव तथा ०६७ मा सुनसरीको सहइन्चार्जको भूमिकामा थिए ।
डाँगी सहकारीका अभियान्ता पनि हुन् । उनले सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन् । डाँगीकै नेतृत्वमा सुनसरीको पकलीमा जिविका कृषि सहकारी संस्था लि.द्वारा संचालित कृषि तथा वन विज्ञान क्याम्पस संचालन भइरहेको छ ।