विराटनगर । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ ।
अछामी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका इन्चार्जसमेत हुन् । माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा अछामीलाई, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको हो । त्यसैगरी माओवादीले २१ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।
त्यसैगरी बैठकले संसदमा देखिएको गतिरोध अन्त्य गर्नका लागि ‘दलको तर्फबाट सर्वदलीय बैठक बसी संसदको गत्यारोध हटाउन पहल गर्ने’ निर्णय पनि गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमालेले वर्षे अधिवेशनमा पूरै समय अवरोध गरेको थियो । एमालेले हिउँदे अधिवेशनमा समेत अवरोध गर्ने बताउँदै आएको छ ।