विराटनगर । ट्राफिक प्रहरीले मनाउने ट्राफिक सप्ताह दुर्घटना न्यूनिकरण हुने खालको सचेतना मुलक कार्यक्रम संचालन गरिनुपर्ने सरोकारवालहरुले सुझाब दिएका छन् ।
पुस ४ गतदेखि सुरू हुने ट्राफिक सप्ताह दुर्घटना न्यूनीकरण हुने खालको कार्यक्रम संचालन गरिनुपर्ने सरोकारवालहरूले यस्तो सुझाब दिएका हुन् ।
प्रदेश १ मा पुस ४ देखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार आयोजना गरेको सुझाब तथा छलफल कार्यक्रममा यातायात व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले ट्राफिक सप्ताह कार्यक्रम सवारी दुर्घटना न्यूनिकरण हुने र सचेता मुलक कार्यक्रम गरिनुपर्ने सुझाब दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले प्रदेश १ मा मनाइने ट्राफिक सप्ताह बढ्दो सवारी दुर्घटना न्यूनीकरण र कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुने जानकारी दिए । ‘प्रदेशमा पछिल्लो समय दैनिक बढेको सवारी दुर्घटनाका कारण मानवीय क्षति भइरहेको छ । दुर्घटना न्यूनीकरणलाई अहिलेको मुख्य प्राथमिकतामा राख्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘कोरोनाको नयाँ भेरियन्टलाई लक्षित गर्दै जनमानसमा सचेतना र स्वास्थ्य मापदण्डको पालनालाई विशेष ध्यान दिनुपर्ने भएको छ । भेरियन्टबाट बच्नका लागि पूर्वतयारी पनि थाल्नुपर्ने देखियो ।’
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले ट्राफिक सप्ताहमार्फत जनचेतना फैलाउने र दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले राखिएको बताए । ट्राफिक सप्ताहअन्तर्गत यातायात क्षेत्रमा यात्रुको सुरक्षा, भौतिक दूरी, स्वास्थ्य मापदण्डको पालना, मास्क तथा सेनिटाइजरको प्रयोग र चालक एवं मजदुरको सुरक्षालाई विशेष जोड दिइने उनले बताए ।
यस्तो छ हप्ताभरी हुने कार्यक्रम
जिल्ला ट्राफिक मोरङले सप्ताहलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएको छ । सप्ताहको पहिलो दिन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको उपस्थितिमा झाँकीसहितको सचेतनामूलक ¥याली विराटनगरमा निकालिने छ । खड्काका अनुसार सप्ताहको दोस्रो दिन अर्थात पुस ५ गते सामाजिक विकास मन्त्री जयराम यादवको उपस्थितिमा पैदल यात्रीलाई सडक, पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारी साधनको गति कम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतना सम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने छ ।
स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा पुस ६ गते ट्याक्टर तथा साइकलमा रिफ्लेक्टर स्टिकर लगाउने, सडक प्रयोगकर्तालाई सडकमै प्रशिक्षित गर्ने र मास्क तथा सेनिटाइजर वितरण गरिने उनको भनाइ छ । सोही दिन मोरङका १४ वटा विद्यालयको छनोट गरेर स्कुल सम्पर्क कार्यक्रममार्फत विद्यार्थी लक्षित ट्राफिक प्रशिक्षणको आयोजना गरिनेछ । पुस ७ गते प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखसमेतको उपस्थितिमा विद्यार्थीसहितको जनचेतनामूलक कार्यक्रम गर्दै प्रेसर हर्न नियन्त्रण, सवारी साधनका नम्बर प्लेटको चेकजाँच, लेन अनुशासनको पालना गराउने एवं चालकलाई पर्चा बाँड्ने र ट्राफिक तथा नगर प्रहरीले ब्यानरसहित सडक पेटीको अतिक्रमण हटाउने कार्यक्रम छ । ८ गते सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय तहसँगको सहकार्यमा सरसफाई कार्यक्रम गरिने जानकारी खड्काले दिए ।
उनका अनुसार दुर्घटनाका घाइतेलाई लक्षित गरेर रेडक्रस, लायन्स तथा यातायात व्यवसायीको सक्रियतामा विराटनगरमा पुस ९ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । पुस १० गते यात्रुलाई सचेतना जगाउँदै सवारी साधनका आरक्षण सिटको अनुगमन गर्ने, जानकारीमूलक स्टिकर टाँस्ने, मास्क र सेनिटाइजर वितरण गर्ने, लायन्सद्धारा ट्राफिक चोकमा आइल्यान्ड स्थापना गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
छलफलमा मन्त्रालयका उपसचिवहरु ओमकारप्रसाद न्यौपाने, गणेश नायक र मन्त्रालयका शाखा अधिकृतहरु उपस्थित रहेको बैठकमा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी, प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिना, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी दीपेन्द्र पञ्जीयार थारु, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्का, सइ शिवकुमार शर्मा, उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, यातायात व्यवसायीका नेता राजन कँडेल, सरोज श्रेष्ठ, राजु धमला तथा मजदुरहरु सहभागी थिए ।