रात्री कन्सर्टमा मुख्यमन्त्री राईकाे डान्स (भिडियाे)

मेचीनगर (झापा) । याेजना बेगरका सानातिना कार्यक्रममा गएकाे भनेर आलाेचना भईरहेकाे बेला प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापामा आयाेजित एक रात्री कन्सर्टमा सहभागी भएका छन् । झापाकाे काँकडभिट्टामा शुक्रबार आयाेजित ‘टिभिएस रेडर सप्तरंग सिजन-३ ’ महासांगीतिक यात्रामा मुख्यमन्त्री सहभागी भए ।

‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएकाे हाे । उक्त यात्रामा सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कलाकारले सहभागिता जनाएका छन् । कलाकारको नेतृत्व महानायक राजेश हमालले गरेका छन् । सातवटा प्रदेशका अलगअलग स्थानमा फरक-फरक मितिमा हुने ‘टिभिएस रेडर सप्तरंग सिजन-३ ’ महासाँगितीक यात्रामा सहभागी कलाकारले आ-आफ्नो प्रस्तुती दिनेछन् ।

काँकरभिट्टामाबाट सुरू भएको यात्राको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, महानायक राजेश हमालले संयुक्तरुपमा गरे । नेपाल प्रहरीको व्याण्ड, स्थानीय इष्ट होराइजन माविको व्याण्ड, नेपाल स्काउटसहित साँझ विभिन्न बाजागाजासहित कार्यक्रमस्थल बसपार्कमा टोली पुगेको थियो ।

कन्सर्टमा मुख्यमन्त्री राईले १ नम्बर प्रदेश साँस्कृतिक, धार्मिक, आर्थिकलगायात विभिन्न दृष्टिकोणले धनी रहेको बताउँदै आफ्नो प्रदेशमा यतिका राष्ट्रिय कलाकारको उपस्थिति र यतिको कार्यक्रमले अझ बढी चिनाउने विश्वास व्यक्त गरे । उनले कलाकारलाई जस्तोसुकै सहयोग गर्ने बताए ।

गायिका अस्मिता अधिकारीले आफ्नो साँगीतिक गीत पस्केर संगीतमय बनाएकी थिईन् । उनले आफ्ना तीनवटा गीत गाईन् । कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्रले अंग्रेजी भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दै तीखो व्यङ्ग्य गरे । उनले यो देशका हरेक नागरिक आफै स्वास्थ्य हुने र मुलुक समृद्घि बन्न नेतामा भर पर्ने भएकाले मुख्यमन्त्री राईलाई त्यसतर्फ सकरात्मक बन्न आग्रह गरे ।

लोकप्रिय कार्यक्रम प्रस्तोता नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा महानायक राजेश हमाल, लोक गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीले आ-आफ्नो प्रस्तुती दिएका थिए ।

आजबाट सुरु भएको ‘टिभिएस रेडर सप्तरंग सिजन-३ ’ महासांगीतिक यात्रा पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम हुने आयाेजककाे भनाइ छ । कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए ।

शुक्रबार, २४ मंसिर, २०७८, रातीको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर