किराँत राई यायोक्खा अधिवेशन :

पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुने मुख्यमन्त्रीको दाबी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण पहिचानकै आधारमा हुने बताएका छन् । उनले आफू एक्लो भएपनि पहिचानको पक्षमै दृढ रहने पनि बताए ।

सुनसरीको धरानमा आज आयोजित किराँत राई यायोक्खा सुनसरीको नवौ अधिवेशन उद्घाटन समारोहमा मुख्यमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने अधिकांशले प्रदेश १ को नामाकरण पहिचानको आधारमा किराँत प्रदेश हुनुपर्ने माग गरेका थिए ।

मुख्यमन्त्री राईले किराँतीहरूको पहिचान र सभ्यता बोकेको थलोको रूपमा रहेको प्रदेश १ को नामाकरण पहिचानकै आधारमा हुने भन्दै ढुक्क हुन आग्रह गरेका थिए । ‘प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको तर केही राजनीतिक दल पहिचानको पक्षमा रहेका छैनन्,’ राईले भने, ‘म एक्लै भए पनि पहिचानको पक्षमा रहेकोले पाँच दलीय गठबन्धनसँग निरन्तर छलफल र संवादमा जुटेका छौं ।’ सहमतिका लागि आफू प्रयासरत रहेको पनि उनले दाबी गरे । सहमतिकै प्रयासका लागि नामाकरण गर्न ढिलो भएको उनको स्वीकारोक्ति थियो ।

कार्यक्रममा मुख्यमन्त्री राईसहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राई, नेपाल टेलिभिजनको इटहरी प्रमुख पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र धुर्पिमाया राईलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा किराँत राई यायोक्खाका पूर्वअध्यक्ष मुगाधन राई, किराँत राई युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष भीम राई, नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राई, किराँत राई यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईलगायतले मन्तव्य राखेका थिए ।

शुक्रबार, २४ मंसिर, २०७८, रातीको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर