लिङ्देन भर्खरको बाच्छो जस्तै भएको ओलीको भनाइ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन भर्खरको बाछो जस्तो भएको भन्दै कटाक्ष गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा ओलीले यस्तो बताएका हुन् । उनले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त (राजतन्त्र) मान्नु आश्चर्य भएको बताए ।

त्यसअगाडि बोलेका लिङ्देनले राजतन्त्रको पक्षमा मन्तव्य दिएका थिए । ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’

यसैबीच ओलीले केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताए । ओलीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । प्रचण्डलगत्तै बोलेका ओलीले त्यसतिर संकेत गर्दै भने, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ ।’

उनले एमाले देश बनाउन नेपाली कांग्रेसको साथमै रहेको पनि बताए । ‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको संसदको अंग होइन ? हामी साथमा छैनौं लोकतन्त्रको सवालमा ? हामीसँगै लडेका छैनौं ?’ उनले भने ।

अध्यक्ष ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझावसमेत दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह गरे।

शुक्रबार, २४ मंसिर, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर