विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएको स्थान विराटनगर महानगरपालिका–३ को शंकरपुरको खुल्ला चौर अहिले डम्पिङसाइड जस्तै भएको छ ।
अधिवेशनमा प्रयोेग गरिएका पर्चा, पम्प्लेट र ब्यानर जताततै फालिएपछि कार्यक्रमस्थल डम्पिङ साइड जस्तै भएको हो । नेपाली कांगे्रसको प्रदेश अधिवेशन गत मंसिर १८ र १९ गते विराटनगरमा सम्पन्न भयो । विराटनगर महानगरपालिका–३ को शंकरपुरको खुल्ला चौरमा भएको अधिवेशनस्थल नेताका पर्चा, पम्प्लेट र ब्यानरले झकीझकाउ देखिन्थे ।
बिजुलीका पोल र तारहरु कुनै खाली थिएनन् । अधिवेशनमा प्रदेश भरका नेताले समृद्धि र विकासका थुप्रै नारा लाउन भ्याए । मैले चुनाव जिते यो गर्छु त्यो गर्छु भनेर मञ्चमा आश्वासन पनि दिलाए । कार्यकर्ताको तालिको गडगडाहड भयो । अधिवेशन सकिएसँगै सबै नेता तथा कार्यकर्ता आ–आफ्नो बाटो लागे । कार्यक्रमका लागि प्रयोग गरिएका ति पर्चा, पम्प्लेट, ब्यानर साथै खाजा नास्ता गरेर फालिएका प्लेट, पानीका बोतललगायत फोहोरका सामग्रीलाई व्यवस्थित तरिकाले विर्सजन गर्नुपर्छ भन्ने हेक्का न नेतालाई भयो न कार्यकर्तालाई नै ।
कार्यक्रम भएको एक हप्ता हुनै लाग्दा पनि फोहोर जहाँको त्यहीँ छ । आफ्नो घरअगाडि फोहोर डङ्गुर भएकोले आफूलाई समस्या भएको स्थानीय कनक जैनले गुनासो गरे । उनले भने, ‘घरभित्रको फोहोर चै आफै सफा गरें । घरअगाडि जताततै फोहोर नै फोहोरले डम्पिङ साइड जस्तै कुरुप भएको छ । कार्यक्रम सकिएको यतिका दिन बितिसक्दा पनि न कांग्रेस पार्टी न कांग्रेस कै मेयर भिम पराजुलीको ध्यान यसतर्फ गएको छ ।’
कार्यक्रमस्थल नजिककैका बिजुलीका तार तथा पोलमा समेत नेताका ब्यानर टाँगिएको थियो । जसको डोरीलाई बच्चाहरुले तान्दा करेन्ट लाग्न सक्ने जोखिम रहेको अर्की स्थानीय ममता अग्रवालले बताइन् । उनले भनिन्, ‘बिजुलीका तारमा टाँगिएका ब्यानरका डोरीमा बच्चाले ताने भने करेन्ट लाग्न सक्ने भएकाले बच्चाको रेखदेख मै समय खर्च गर्नु परेको छ । जसले गर्दा अन्य कार्य गर्न असहज भएको छ ।’