बेलबारी । कोरियामा पाँच वर्ष काम गरेर फर्किएका मोरङ बेलबारीका युवा सुवाश राईले नेपालमा नयाँ तरिकाको कृषि मार्ट सञ्चालनमा ल्याएका छन् । उनले मोरङको बेलबारी बजारमा सदाबहार कृषि मार्ट संचालनमा ल्याएका हुन् । करिब २० लाख बढी लागतमा कृषि माट संचालनमा ल्याएको उनले बताए ।
नेपालका दैनिक बजार पनि मन्डीहरूमा अव्यवस्थित किसिमबाट सञ्चालन हुने गरेका छन् । त्यस्ता अव्यवस्थित र धुलो धुँवा युक्त फलफुल, सागसब्जी, तरकारीहरूबाट स्वास्थ्यलाई नै असर गर्ने परिपाटीबाट मुक्त गराई नयाँ तरिकाबाट स्वास्थ्य वर्धक बजारको अवधारणा अनुसार कृषि मार्ट संचालनमा ल्याएको उनले सुनाए ।
उनले बेलबारी बजारमा संचालनमा ल्याएको कृषि मार्ट यहाँका लागि नयाँ अवधारणा हो । यस भन्दा पहिले यस किसिमको मार्ट बेलबारी क्षेत्रमा सञ्चालनमा आएको छैन । उक्त मार्टमा सागसब्जी, फलफुल, खाद्यन्न, बर्थडे आइटम सामग्री तथा फलफुल र सागपातको जुस(रस) पाइन्छ ।
एउटै छानामुनी कृषिसँग सम्बन्धी सम्पुर्ण खाद्यबस्तु एकै ठाउँमा पाइएपछि उपभोक्ताहरूलाई पनि सहज भएको स्थानिय होटल संचालक नेत्र श्रेष्ठले बताए । ‘दिनभरी होटल सञ्चालन गर्यो छेउमा भएकाले साँझपख फुर्सद हुँदा किनमेल गर्यो ल्यायो,’ उनले भने, ‘स्थानिय स्तरमा कृषि मार्ट संचालनमा आएपछि हामीलाई पनि सहज भएको छ ।’
विदेशबाट फर्किएर स्वदेशमै उद्यमशिल भएर स्थानिय स्तरमा व्यवसाय संचालन गर्ने उद्देश्यले कृषि माट संचालन ल्याएको राईले बताए । कृषि क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै गरेकालाई प्रदेश सरकारले अनुदान दिने भनेपछि चिल्लरका लागि फर्म भरेको पनि उनले सुनाए । ‘आफुसँग भएको पूजीले कृषिसँग सम्बन्धित व्यवसाय सुरू गरेको छु । मन्त्रालयले अनुदान रकम उपलब्ध गराएमा चिल्लर खरिद गर्ने योजना रहेको छ,’ उनले भने, ‘चिल्लर खरिद गर्न सके तत्काल कुहिले सागसब्जीहरूले तीनचार दिनसम्म जस्ताको त्यस्तै राख्न सकिन्छ । चिल्लरमा यसरी सागसब्जीहरू राखेर निकै दिनसम्म ताजा बनाउन सकिन्छ ।’ अहिले उक्त मार्टमा राईसहित चार जनाले रोजगारी पनि पाएका छन् ।