विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेको सम्पत्ती केपी ओलीको समूहले एकलौटी हडपेको आरोप लगाएका छन् ।
नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटीको पार्टी कार्यालय निरीक्षणका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उक्त सम्पत्तीमा आफूहरुको समेत भाग लाग्ने दाबी गर्दै उनले कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने बताए ।
अध्यक्ष नेपालले जोड्दै जाने हो भने अरब पुग्ने भौतिक सम्पति रहेको बताउँदै उनले भने, ‘नगद पनि छ, ती सबै खोसेर लगेका छन्, उनैले कब्जा गरेको छ ।’ उनले थपे, ‘तर पनि केही भएको छैन, फेरि आर्जन गरौंला ।’
उक्त सम्पत्तिमा हक लाग्छ भने हकका लागि कानुनी उपायहरू खोज्ने बताउँदै उनले पार्टीलाई व्यवस्थित बनाउनुछ भने कार्यालय अपरिहार्य रहेको पनि बताए ।